मधेसमा अन्तरक्रिया गर्दै १८ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइयो


१४ भदौ, बर्दिवास (महोत्तरी) – जीवनराज दाहाल/मिथलेश महतो।

१८औं राष्ट्रिय पुस्तकालय दिवस २०८२ को अवसरमा ‘पठनसंस्कृति प्रवर्द्धन : सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार देउराली माध्यमिक विद्यालयको सभाकक्षमा सम्पन्न भएको छ ।

नेपाल लाइब्रेरी फाउन्डेशन गृह पुस्तकालय अभियान मधेस प्रदेश समन्वय समितिको आयोजनामा तथा महोत्तरी जिल्ला समन्वय समितिको सहआयोजनामा भएको कार्यक्रममा जिल्ला संयोजक सरिता पोख्रेलले सञ्चालन गरेकी थिइन् भने नगर संयोजक शान्ता काफ्लेले स्वागत मन्तव्य दिएकी थिइन् ।

मधेस प्रदेश समन्वय समितिका संयोजक प्रेमकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतिशील लेखक संघ (प्रलेस) मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, बुढ्यौली साहित्य समाज सिरहाका अध्यक्ष गणेश अधिकारी, गृह पुस्तकालय अभियान धनुषाका संयोजक गणेश तिमल्सिना ‘गति’, मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दाहाल, सिस्नुपानी नेपाल महोत्तरीका अध्यक्ष नारद काफ्ले, बलेसी साहित्य समाज महोत्तरीका अध्यक्ष भीम राउत, प्रलेस रौतहटका अध्यक्ष रामप्रसाद आचार्य, बर्दिवास साहित्यिक – सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेललगायत साहित्यकर्मी, पुस्तकालय व्यवस्थापक, शिक्षक तथा पत्रकारहरूले आ – आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

वक्ताहरूले ज्ञान र सूचनाको युगमा पठन संस्कृतिको महत्त्वलाई जोड दिँदै अन्नजस्तै बौद्धिक जीवनका लागि पठन अपरिहार्य भएको उल्लेख गरे। उनका अनुसार पठनले सोच, चेतना र व्यवहारमा गहिरो प्रभाव पार्ने भएकाले विद्यालय, महाविद्यालय, विश्वविद्यालय र सामुदायिक पुस्तकालयहरूको सञ्जाललाई सुदृढ बनाउन आवश्यक छ ।

 

अन्तरक्रियामा “पढ्ने बानी, उज्यालो भविष्य” जस्ता अभियान, विद्यालयमा ‘पठन दिवस’ वा ‘पढ्ने घण्टा’ सञ्चालन, पुस्तक समीक्षा प्रतियोगिता आदि माध्यमबाट बालबालिकामा पठनप्रति आकर्षण बढाउन सकिने सुझाव दिइयो । साथै, ई–बुक, अनलाइन लेख र डिजिटल पुस्तकालयहरूले पढ्ने परम्परालाई नयाँ दिशा दिएको वक्ताहरूको भनाइ थियो ।

तर, सामाजिक सञ्जाल, छोटा कन्टेन्ट र भिडियो मनोरञ्जनप्रतिको अत्यधिक आकर्षण, गाउँ – बस्तीमा पुस्तकको अभाव, पुस्तकको महँगोपन, परीक्षा – केन्द्रित पढाइ र राज्यको प्राथमिकतामा पठनलाई नदिइएको स्थानले पठनसंस्कृतिमा चुनौती थपिएको धारणा पनि प्रस्तुत गरियो ।

कार्यक्रममा मधेस प्रदेशका सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका प्राचार्य, शिक्षक, साहित्यकर्मी, गृह पुस्तकालय अभियन्ता, पुस्तकालय व्यवस्थापक तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको