१४ भदौ, जनकपुर –
धनुषाको जनकपुर उपमहानगरपालिका–२०, झण्डा चोकमा शनिबार दिउँसो हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ। घटनामा एक स्थानीय घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार दिउँसो करिब २ः२० बजे गणेश मूर्ति विसर्जनको तयारी भइरहेकै समयमा हिन्दु पक्ष र मुस्लिम पक्षबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा ढुङ्गामुढा समेत चलेको र सो क्रममा एक जना घाइते भएको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले तत्काल अतिरिक्त फोर्स खटाएको थियो। त्यस्तै, सशस्त्र प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको जनाइएको छ। साथै सीमा सुरक्षा गुल्म जटहीबाट ७० जना सशस्त्र प्रहरीसहित संयुक्त टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिपछि केहीबेरमै अवस्था नियन्त्रणमा आएको भए पनि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था थप कडा पारेको छ। प्रहरीले दुवै पक्षलाई शान्त रहन आग्रह गरेको छ भने घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।
घटनापछि स्थानीयवासीहरूमा डर र असुरक्षाको भावना बढेको बताइएको छ। प्रशासनले आगामी दिनमा यस्ता विवाद रोक्न अग्रिम सतर्कता अपनाइने जनाएको छ।









