जनकपुर । जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम वीर शहीद राम मनोहर यादवको आठौँ श्रद्धाञ्जली दिवस विभिन्न कार्यक्रमसहित मनाउने भएको छ।
पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी भदौ १५ गते आइतबार साँझ ७ बजेदेखि देशभर एकैसाथ श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न सबै जिल्ला र वडा कमिटीलाई निर्देशन दिएका छन्।
श्रद्धाञ्जली कार्यक्रममा शहीद यादवको तस्वीरमा मैनबत्ती तथा दीप प्रज्वलन गरिने जनाइएको छ। यस क्रममा पार्टीले जिल्ला सदरमुकाम, वडास्तरका इकाइ तथा पार्टी कार्यालयहरूमा एकसाथ श्रद्धाञ्जली कार्यक्रम हुने स्पष्ट पारेको छ।
जनमत पार्टीले यादवको बलिदान मधेशी जनता अधिकार र स्वराज आन्दोलनमा ऐतिहासिक योगदानका रूपमा रहेको उल्लेख गर्दै श्रद्धाञ्जली दिवसलाई पार्टीको सांस्कृतिक तथा राजनीतिक प्रतिबद्धतासँग जोडेर मनाइने जनाएको छ।









