१३ भदौ, बिराटनगर – चन्दन रजक।
स्वराज आन्दोलनका प्रथम वीर शहीद राम मनोहर यादवको बलिदानको आठौं वार्षिकोत्सवको अवसरमा जनमत पार्टीले आगामी २०८२ भदौ १५ गते (आइतबार) देशभर भव्य श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले जारी गरेको विज्ञप्तिअनुसार सो दिन साँझ ७ बजे राम मनोहर यादवको तस्वीरमा मेणबत्ती प्रज्वलन, दिप प्रज्वलन र पुष्पाञ्जली अर्पण गर्दै शहीदप्रति सम्मान प्रकट गरिनेछ।

जनमत पार्टीले देशभरका सबै जिल्लाका प्रत्येक वडा, जिल्ला सदरमुकाम तथा पार्टीका कार्यालयहरूमा एकसाथ श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
डा. यादवले भन्नुभयो राम मनोहर यादवले स्वराज आन्दोलनका क्रममा देखाएको साहस, त्याग र बलिदान हाम्रो प्रेरणाको स्रोत हो। उहाँको योगदानलाई सम्झँदै, शहीदको सपनालाई साकार पार्ने संकल्पका साथ सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागिता आवश्यक छ।
जनमत पार्टीले यस अवसरमा सम्पूर्ण पार्टी संरचना, शुभेच्छुक, समर्थक र आम नागरिकलाई श्रद्धाञ्जली कार्यक्रममा सक्रिय सहभागिताको आह्वान गरेको छ।









