१२ भदौ, सर्लाही।
विशेष सूचनाको आधारमा सर्लाही प्रहरीले हातहतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
रामनगर गाउँपालिका – ७ सिसौट टोलका २५ वर्षीय किशन महरा भारतको सोनवर्षाबाट BR 06 DM 9523 नम्बरको मोटरसाइकलमा मलंगवा आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्राथमिक सोधपुछमा किशनले आफूसँग भएको हतियार श्याम महरालाई राख्न दिएको स्वीकार गरेपछि प्रहरीले बागमती नगरपालिका – ४ जिरायत टोलका १८ वर्षीय श्याम महरालाई समेत नियन्त्रणमा लिएको छ। श्यामले सोधपुछका क्रममा हतियार बागमती नगरपालिका – १२ स्थित बागमती नदी किनारमा राखेको बताएका थिए।
त्यसपछि प्रहरीले उक्त स्थानबाट कटुवा पेस्तोल (नाल – १ थान) बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको र सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएकाे प्रहरीले जनाएको छ।









