१२ भदौ, काठमाडौं – चन्दन रजक।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुनुअघि नै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले रोजगारी सृजनामा ठूलो महत्व दिने संकेत दिएको थियो। मन्त्री बसन्त कुशवाहाले सरकारले एक लाख नयाँ रोजगारी सिर्जना गर्ने नीतिगत तयारी गरिरहेको घोषणा पनि गरेका थिए।
यससँगै मन्त्रालयले प्रशासनिक संरचना सुदृढीकरणका लागि आन्तरिक सुधारको प्रक्रिया सुरु गरेको छ। यस क्रममा केही करारका कर्मचारीहरूको म्याद नथप्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सचिव जयकुमार घिमिरेका अनुसार यो निर्णय दीर्घकालीन योजना अनुसार स्थायी दरबन्दी र दक्ष जनशक्ति परिचालनमा प्राथमिकता दिन गरिएको हो।
सचिव घिमिरेले भने, मन्त्रीस्तरीय निर्णय अनुसार करार सेवामा रहेका केही पदहरूको पुनरावलोकन भइरहेको छ। यसले रोजगारी अवसर कटौती होइन, बरु स्थायी संरचना र दीर्घकालीन योजना अनुसार दक्ष जनशक्ति भर्नाको बाटो खोल्नेछ।
मन्त्रालयका अधिकारीहरूका अनुसार यस कदमको उद्देश्य प्रशासनिक कार्यक्षमता बढाउनु, बजेटको प्रभावकारी प्रयोग गर्नु र रोजगारीका अवसरलाई थप दीर्घकालीन बनाउनु हो। मन्त्रालयले आगामी योजनामा रोजगारीका लागि नयाँ कार्यक्रम ल्याउने तयारी पनि गरिरहेको छ।
उद्योग, वाणिज्य तथा पर्यटनले करार सेवामा रहेका कर्मचारीहरूको योगदानको उच्च सम्मान गर्दै, दक्षता मूल्यांकनको आधारमा भविष्यमा रोजगारीका अवसरलाई अझ सुदृढ बनाउने आश्वासन दिएको छ।
यस निर्णयलाई सकारात्मक रूपमा हेर्दै कर्मचारी संगठनका नेताहरूले पनि मन्त्रालयसँग सहकार्य गरेर रोजगारीको दायरा अझ बढाउने पहलमा लाग्ने बताएका छन्।











