७ भदौ, जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पर्साको वीरगंजमा देखिएको हैजा संक्रमण नियन्त्रणका लागि प्रदेश सरकार हरसम्भव उपाय अवलम्बन गर्ने बताएका छन्। हाल मलेसिया भ्रमणमा रहेका मुख्यमन्त्री सिंहले स्वास्थ्य निर्देशनालय तथा स्थानीय स्वास्थ्य कार्यालयलाई सक्रिय रूपमा काम गर्न आग्रह गरेका छन्।
उहाँले नारायणी अस्पतालसहित वीरगंजका अन्य स्वास्थ्य संस्थालाई संक्रमित बिरामीको उपचारमा पूर्ण रूपमा तत्पर रहन निर्देशन दिएका छन्। साथै, प्रभावित क्षेत्रमा तत्काल उपचार सेवा उपलब्ध गराउन र संक्रमण थप नफैलियोस् भनेर आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन्।
यसैगरी, उपचार सेवा थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई विशेष जिम्मेवारीसहित वीरगंज पठाइएको प्रदेश सरकारले जनाएको छ।









