४ भदौ, जलेश्वर, महोत्तरी – महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीको विषयमा मधेश प्रदेश सरकारले दुई मेडिकल अधिकृतसहित चार जना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण मागेको छ।
मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृत डा। शिखा अधिकारी र डा। सद्रे आलम तथा स्टाफ नर्स मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ।
स्पष्टीकरण मागिनुको कारण सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवा प्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको जानकारी प्राप्त हुनु हो।
महोत्तरीका विभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाले मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाउँदै प्रादेशिक अस्पतालमा उपचार नपाउँदा जनताले अकालमा ज्यान गुमाउन बाध्य भएको जानकारी गराएका थिए। त्यसपछि मुख्यमन्त्री सिंहले स्वास्थ्य मन्त्रालयलाई तत्काल आवश्यक छानबीन गर्न निर्देशन दिनुभयो।
स्पष्टीकरण सोधिएका कर्मचारीमाथि सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको, आचारसंहिता पालना नगरेको र कार्य सम्पादनमा लापरबाही गरेको आरोप छ। पत्रमा भनिएको छ, “३ दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले आवश्यक कारबाही अघि बढाउनेछ।”
प्रदेश निजामति सेवा ऐनको दफा ८६ को उपदफा अनुसार, कर्मचारीले आचरण सम्बन्धी कुरा पालना नगरे वा जानाजान लापरबाही गर्दा सेवाग्राहीलाई हानि पुग्ने अवस्था देखिएमा स्पष्टीकरण सोधिने व्यवस्था गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले भने, “सेवा प्रवाहमा लापरबाही गर्नेहरू विरुद्ध मन्त्रालयले आवश्यक कारबाही प्रक्रिया अघि बढाउनेछ।”










