जनकपुरधाम – मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले आगामी चाडपर्वलाई उल्लासपूर्वक मनाउनेसँगै वन संरक्षणलाई प्राथमिकतामा राख्दै विशेष अनुगमन र गस्ती बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
मन्त्री यादवका अनुसार पर्वको समयमा धेरै कर्मचारी बिदामा रहने भएकाले वनजन्य चोरी–निकासी तथा अवैध गतिविधि बढ्ने सम्भावना रहन्छ। यसलाई रोकथाम गर्न स्थानीय समुदाय, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह र सुरक्षाकर्मीबीच मजबुत सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।
“वन हाम्रो साझा सम्पत्ति हो। यसलाई जोगाउनु सबैको जिम्मेवारी हो। पर्वमा रमाइलो गर्दै पनि प्रकृतिप्रतिको कर्तव्य पूरा गर्नुपर्छ,” मन्त्री यादवले भन्नुभयो।
वन मन्त्रालयका अनुसार प्रदेशभरका संवेदनशील वन क्षेत्रमा विशेष गस्ती टोली परिचालनको तयारी भइरहेको छ। यस कदमले वनजन्य चोरी–निकासी नियन्त्रणमा मात्र होइन, जैविक विविधता संरक्षण र दिगो वन व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ।
मन्त्रालयको मूल्याङ्कन अनुसार पर्व तथा विशेष अवसरमा सचेत कदम चाल्दा दीर्घकालीन रूपमा वन अपराध नियन्त्रण र स्रोत संरक्षण सम्भव हुन्छ। यसले वन मन्त्रालयप्रति जनविश्वास बढाउने मात्र होइन, प्रदेशलाई हरियाली, सुरक्षित र दिगो विकासतर्फ अघि बढाउने अपेक्षा गरिएको छ।



















