नेपालमा लोकतन्त्रको मेरुदण्ड नै स्वतन्त्र प्रेस हो । पत्रकारिता कुनै व्यक्तिगत स्वार्थको लागि होइन, सार्वजनिक सरोकारका विषयमा जनताको पक्षमा सत्य र तथ्य उजागर गर्ने व्यवसाय हो । त्यसैले पत्रकारमाथि हुने कुनै पनि प्रकारको आक्रमण केवल एक व्यक्तिमाथिको हिंसा मात्र होइन, सम्पूर्ण प्रेस स्वतन्त्रतामाथिको आघात हो ।
जनकपुरधाममा मंगलबार भएको घटना – जहाँ नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरुले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बनजारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निरालामाथि कुटपिट गरे – केवल आपराधिक कृत्य मात्र होइन, यसले लोकतान्त्रिक मूल्यप्रति अनादर देखाएको छ । विशेषगरी, महासचिव क्रान्तिको पैतालाको हड्डी भाँचिनु जस्तो गम्भीर चोटले यो घटनाको संवेदनशीलता झन् बढाएको छ ।
यो विवादको मूलमा रहेको मुद्दा गुठी संस्थानबाट पत्रकार महासंघले लिएको लिज जग्गा हो । कानुनी प्रक्रियाबाट, सार्वजनिक सूचना र प्रतिस्पर्धी प्रस्तावको आधारमा प्राप्त भएको जग्गामा तारबार गर्न थालेको बेला वकिल समूहको आक्रमण हुनु, कानुनकै रक्षा गर्नुपर्ने पेशाबाट आएको आचरणको दृष्टिले गम्भीर चिन्ता जगाउने कुरा हो । यदि कुनै असहमति वा अधिकारको दाबी छ भने, त्यसको समाधान कानुनी बाटोबाट हुनुपर्छ — न कि हिंसा र दबाबबाट ।
हिंसाबाट समाधान खोज्ने प्रवृत्ति हाम्रो लोकतान्त्रिक यात्राका लागि खतरनाक संकेत हो । कानुनी पेशामा आबद्ध व्यक्तिहरुबाट नै यस्तो आचरण हुनु, न्याय प्रणालीप्रतिको विश्वासमा आघात पुर्याउने काम हो ।
यस घटनाको निष्पक्ष छानबिन भई दोषीमाथि कारबाही हुनुपर्छ । प्रेस स्वतन्त्रता र कानुनी शासनको रक्षा गर्न राज्यका निकायहरु तदारुकतापूर्वक अगाडि आउनै पर्छ । यो केवल पत्रकारको मात्र मुद्दा होइन, सम्पूर्ण नागरिकको अभिव्यक्ति स्वतन्त्रताको मुद्दा हो ।
लोकतन्त्रमा हिंसाको स्थान छैन । वकिलको कोट होस् वा पत्रकारको कलम—दुवैको सम्मान र दायित्व सँगसँगै रहनुपर्छ । समाज, कानुन र लोकतन्त्रको रक्षा गर्न यिनको आपसी संघर्ष होइन, आपसी सहकार्य आवश्यक छ ।









