वीरगन्ज कारागारका कैदीको मृत्यु प्रकरणमा ७ सदस्यीय छानबिन समिति गठन


२७ साउन, पर्सा — नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज कारागारका एक कैदीको मृत्यु भएपछि पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।

मंगलबार बिहान नारायणी अस्पतालमा वीरगन्ज – २५ का २८ वर्षीय कैदी राहुल साह तुराहाको मृत्यु भएको हो। कर्तव्य ज्यान मुद्दामा पाँच वर्षदेखि कैद सजाय भोगिरहेका तुराहालाई बिहान कारागारभित्र व्यायाम गर्ने क्रममा हर्ट अट्याक भएपछि तुरुन्त अस्पताल पुर्याइएको थियो। सुरुमा आइसियु वार्डमा शय्या खाली नभएकाले अन्यत्र लैजान चिकित्सकले सुझाए पनि पछि अस्पतालमै शय्या मिलाइएर उपचार सुरु गरिएको थियो। उपचारकै क्रममा बिहान १०:३० बजे उनको मृत्यु भएको थियो।

मृतकका आफन्तले अन्य अस्पतालमा लैजान नदिएकाले समयमै उपचार नपाएर मृत्यु भएको आरोप लगाउँदै अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका थिए। यसपछि जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोहबरमा मृतक पक्ष, जनप्रतिनिधि, प्रहरी अधिकारीलगायतको सहभागितामा छलफल भएको थियो। छलफलमा कैदी मृत्युको सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको हो।

समितिमा पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वीरगन्ज – २५ का वडाध्यक्ष आशुतोष चर्तुवेदी, मृतक पक्षका एक प्रतिनिधि, एक मानव अधिकारकर्मी, नेपाल चिकित्सक संघ र नेपाल पत्रकार महासंघ पर्साका एक-एक प्रतिनिधि रहेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालयमा सहमति भएपछि मंगलबार साँझ मृतककै शव नारायणी अस्पतालमै पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको