२३ साउन, जनकपुरधाम — धनुषाधाम नगरपालिका–३ तेजनगरका ४५ वर्षीय किसान शिवजी मण्डलको करेन्ट लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, शुक्रबार बिहान करिब साढे ११ बजेतिर स्थानीय सुखिया साह सुडीले आफ्नै सात कठ्ठा खेत वरिपरि विद्युत् तारले घेराबार गरेका थिए। सोही घेराबारको आलीमा चढ्ने क्रममा मण्डललाई करेन्ट लागेको थियो।
घटनापछि अचेत अवस्थामा रहेका मण्डललाई स्थानीयवासीले उद्धार गरी प्रहरीको सहयोगमा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएका थिए। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका डीएसपी सिंहले जानकारी दिए।
शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि आजै बिहान मधेश प्रदेशकै सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा पनि करेन्ट लागेर ४२ वर्षीय शम्भुकुमार इसरको मृत्यु भएको थियो। उनी खेतमा सिँचाइ गर्ने क्रममा मोटर चलाउँदा करेन्ट लागेको थियो।









