२१ साउन, बर्दिवास – जिवन राज दाहाल।
सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा “अब हाँस्छ बर्दिवास” शीर्षकमा गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम बर्दिवासमा आयोजना गरिने भएको छ । यही २०८२ साल साउन २४ गते शनिबारका दिन बर्दिवासको गौतम होटलमा दिउँसो ३ बजे कार्यक्रम हुने जानकारी आयोजकले दिएका छन् ।
कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहनेछ । आयोजकका अनुसार यस कार्यक्रममार्फत बर्दिवासमा पहिलोपल्ट सिस्नुपानी नेपालको प्रस्तुति हुँदैछ, जसले गाईजात्रा पर्वलाई हास्यव्यङ्ग्य तथा मनोरञ्जनको माध्यमबाट नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ ।
सिस्नुपानी नेपाल महोत्तरीका अध्यक्ष नारद प्रसाद काफ्लेले समाजमा व्याप्त विकृति, विसङ्गति जस्ता तत्वहरूलाई साना तहबाटै भए पनि चिरफार गर्दै सामाजिक न्याय सुदृढ पार्न यस कार्यक्रमले योगदान दिने विश्वास व्यक्त गरे । साथै, उनले सम्पूर्ण जनमानसमा आफ्नै कला, संस्कृति र मौलिकताको संरक्षणसँगै जिम्मेवारीपूर्वक लाग्न प्रेरणा मिल्ने अपेक्षा पनि व्यक्त गरे ।
कार्यक्रममा स्थानीय तथा आम दर्शकको उपस्थितिलाई स्वागत गर्दै “पचाउन सक्ने सम्पूर्णमा हार्दिक निमन्त्रणा” पनि गरिएको छ ।
सिस्नुपानी नेपाल २०५५ सालदेखि हास्यव्यङ्ग्यको माध्यमबाट सामाजिक, राजनीतिक तथा सांस्कृतिक विषयमा व्यङ्ग्य प्रस्तुत गर्दै आइरहेको संस्था हो ।









