पत्रकारितामा मर्यादा र व्यावसायिकता कायम गर्न आचारसंहिता अनिवार्य: अध्यक्ष यादव


राजविराज — मधेश प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादवले पत्रकारिता पेशालाई मर्यादित, विश्वसनीय र व्यावसायिक बनाउन पत्रकार आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ, सप्तरी शाखाको सभाहलमा सोमबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले पत्रकारितामा देखिएको विकृति अन्त्य गर्न आचारसंहिताको पालना अत्यावश्यक रहेको धारणा राखे।

उहाँले मिडिया काउन्सिलले पत्रकारको क्षमता अभिवृद्धिका साथै मिडियामैत्री वार्षिक कार्यक्रम तय गर्दै पत्रकारबाट आएका सुझाव आत्मसात् गर्ने प्रतिबद्धता जनाए। साथै, पत्रकारको कल्याणका लागि ‘पत्रकार कल्याण कोष’ चालू आर्थिक वर्षमै सञ्चालनमा ल्याइने जानकारी दिए।

हालसम्म मधेश प्रदेशमा ६२ वटा अनलाइन मिडिया दर्ता भइसकेका छन्। ती मिडियालाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापनको पहुँचमा ल्याउने कार्यविधि निर्माण प्रक्रिया अघि बढाइएको समेत अध्यक्ष यादवले बताए।

कार्यक्रममा मिडिया काउन्सिलकी सदस्य रिंकु मिश्रले आचारसंहिता उल्लङ्घनका घटनाहरू बढ्दै गएकाले त्यसको प्रभावकारी नियमन आवश्यक रहेको औँल्याइन्।

पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहले मिडिया काउन्सिल प्रदेशस्तरका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको समग्र विकासमा अग्रसर हुनुपर्नेमा जोड दिइन्।

त्यस्तै, आम सञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष श्यामसुन्दर यादवले सञ्चार ऐन संशोधन गरी काउन्सिललाई स्वायत्त बनाउँदै बजेटको सम्मानजनक व्यवस्था गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा पत्रकार महासंघ, सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्षहरू वैद्यनाथ झा, धिरेन्द्र प्रसाद साह, राष्ट्रिय परिषद सदस्य मनोजकुमार माझी लगायतले यूट्युबरमार्फत फैलिएको अमर्यादित पत्रकारिता नियन्त्रण गर्न काउन्सिलको भूमिका सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।

काउन्सिल सदस्य मनु पासवान, आम सञ्चार प्राधिकरण सदस्य नवीन गुप्तालगायतले पनि आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको