राजविराज — सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हन टोलमा गत जेठ २२ गते राति भएको लुटपाट तथा हत्या घटनामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको जानकारी अनुसार, पक्राउ परेकामा सुरुङ्गा नगरपालिका–८ का राजेश कुमार मरिक (२७), संजय मरिक (२८), बोदे बर्साइन–२ का दिपेन मरिक (२०), खडक–११ का हरिकिसुन मरिक (३४), शम्भुनाथ–८ का दिपक मरिक (२४), उदयपुर बेलका–१ का चन्दर मरिक (२८), सुरुङ्गा–७ का राजु कुमार विक (३३), सिराहा लहान–६ का महेन्द्र गोड्से (५२) र लहान–८ का उमेश साह सोनार (३८) रहेका छन्।
पक्राउ परेकाहरूलाई डाँका र कर्तव्य ज्यानसम्बन्धी अभियोगमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गौतम केसीले जानकारी दिए।
घटनामा ५० वर्षीय कान्तलाल चौधरीको हत्या भएको थियो भने दाजु बचाउन खोज्दा उनका भाई रमाकान्त चौधरी गम्भीर घाइते भएका थिए।
पक्राउ परेकाहरूबाट मृतकको घरबाट लुटिएको पाँच तोला सुन, दुई किलो चाँदी, ५०–६० हजार नगद, कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई राउन्ड गोली तथा खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ।
पत्रकार सम्मेलनमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदी पनि सहभागी थिए। उनले सफल अनुसन्धान गरी अभियुक्तहरू पक्राउ गरेकोमा प्रहरी टोलीलाई धन्यवाद दिए।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य केही व्यक्तिहरू पनि नियन्त्रणमा लिइएका छन् र थप अनुसन्धान जारी छ।









