असोज १ गतेदेखि सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य


२० साउन, काठमाडौं – अब देशभरका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समिति बैठकले यो निर्णय गरेको हो।

बैठकले २०८२ साल असोज १ गतेदेखि सवारी दर्ता, नामसारी तथा नवीकरणका क्रममा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको छ। यो कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागमार्फत प्रदान गरिनेछ भने ट्राफिक प्रहरीको समेत परिचालन गरिनेछ।

साथै, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको सन्दर्भमा सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार भदौ मसान्तभित्र छपाइ कार्य सुरु गर्न केन्द्रलाई अनुरोध गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशले यसका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाइसकेका छन्।

बैठकले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ:

  •  १० वर्षे अवधि कायम गरिने सवारी चालक अनुमतिपत्र वितरणमा राजस्वको एकरुपता ल्याउने।
  •  सवारीसम्बन्धी तथ्याङ्क डिजिटलाइज गर्ने।
  •  भुक्तानी प्रणाली विद्युतीय बनाउने।
  •  सफ्टवेयर प्रणाली सुधार गर्ने।
  •  बेरुजु फर्स्योट प्रभावकारी बनाउने।
  •  राइड सेयरिङ प्रणालीलाई स्पष्टता दिँदै एकरुपता ल्याउने।

संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउँदै संघीयता कार्यान्वयनमा सघाउ पुर्‍याउने उद्देश्यसहित यो निर्णय गरिएको मन्त्री दाहालले बताए। उनले नागरिकलाई छरितो सेवा प्रवाहका लागि निर्णय कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गरे।

बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, संघ तथा प्रदेशका मन्त्री, सचिवहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको