१० साउन, बर्दिबास – जीवनराज
बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठान, बर्दिबास महोत्तरीद्वारा आयोजित ७२औँ नियमित साहित्य शृङ्खला शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
साहित्यिक शृङ्खलाको सञ्चालन प्रतिष्ठानका आजीवन सदस्य तथा प्रगतिशील लेखक सङ्घ नगर समिति बर्दिबासका सहसचिव यादवराज वाग्लेले गरेका थिए । स्वागत मन्तव्य दिंदै प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्लेले सहभागी अतिथि र सर्जकहरूलाई सहकार्यको भावनासहित अगाडि बढ्न आह्वान गरे।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, डा. सुमन कर्मचार्य (उपाध्यक्ष, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठान), मदन प्रभात (सल्लाहकार, प्रतिष्ठान), उद्धव अविचल (अध्यक्ष, विश्व नेपाली साहित्य समाज महोत्तरी), नारदप्रसाद काफ्ले (अध्यक्ष, सिस्नुपानी महोत्तरी), मोहन महतो (अध्यक्ष, गौशाला साहित्य समाज), प्रलेस नेपाल की केन्द्रीय सदस्य विमला विक, प्रशिक्षक महेशपति मिश्र (नाथम कलेज) तथा अनेलसका केन्द्रीय सचिव जीवनस्पर्शी लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम विविध रचनात्मक प्रस्तुतिबाट भरिपूर्ण बन्यो।
जीवनराज दाहाल, मदन बराल, सरिता तामाङ, आदित्य बस्नेत, प्रिसा वाग्ले, प्रशंसा वाग्ले, सुमन वैद्य, सुदर्शन काफ्ले र पवन वाग्लेजस्ता कवि–सर्जकहरूले आफ्ना कविता, गजल र मुक्तक प्रस्तुत गर्दै साहित्यिक वातावरणलाई जीवन्त बनाए।
अतिथिहरूले बर्दिबासमा निरन्तर साहित्यिक शृङ्खला सञ्चालन हुँदै आएको कुरालाई गर्वको विषय बताउँदै नयाँ सिर्जनाकर्मीहरूलाई प्रेरणा दिने काममा प्रतिष्ठानको योगदान उल्लेखनीय रहेको धारणा राखे।
समापन मन्तव्य दिँदै सभाध्यक्ष पौडेलले रामेछापबाट उपस्थित भएका डा. सुमन कर्मचार्य लगायत सबै अतिथि र स्रष्टाहरूलाई विशेष धन्यवाद व्यक्त गरे । साथै, कार्यक्रममा स्थल सहयोग उपलब्ध गराएका बर्दिबास चिया चौतारीका सञ्चालक सुदर्शन काफ्लेलाई पनि आभार प्रकट गरिएको थियो ।









