९ साउन, बर्दिवास (महोत्तरी) —
सर्लाहीको बलरा घर भई बर्दिवासस्थित डीएनबी मेडिकेयर सेन्टरमा कार्यरत चिकित्सक डा. प्रवीण मिश्रालाई जबर्जस्ती करणी र गैरकानुनी रूपमा गर्भपतन गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
४१ वर्षीय डा. मिश्रालाई बिहीबार पक्राउ गरिएको महोत्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र कुमार भट्टले जानकारी दिए। उनका अनुसार साउन ५ गते जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेको थियो।
प्रहरी अनुसन्धानअनुसार डा. मिश्राले १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी त्यसपछि करिब १० हप्ताको गर्भपतन गराएका थिए। गर्भपतनका क्रममा अत्यधिक रक्तस्राव भएर ती किशोरी अचेत भएपछि परिवारले इलाका प्रहरी कार्यालय, बर्दिवासमा उजुरी दर्ता गराएका थिए।
किशोरीका अभिभावकको किटानी जाहेरीका आधारमा प्रहरीले मिश्रालाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा किशोरीसँग बलपूर्वक शारीरिक सम्पर्क राखिएको र चिकित्सकीय प्रक्रिया नअपनाई गर्भपतन गराइएको खुलेको प्रहरीले जनाएको छ।
हाल मिश्रालाई अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साभार- आज्ञा खबर









