प्रदेश सभा सचिवालयका कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न


७ साउन, बर्दिवास, महोत्तरी – मिथलेश महतो/अनिशा पौडेल

मधेश प्रदेशको प्रदेश सभा सचिवालयको आयोजना तथा संसद सहयोग परियोजना – संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा आयोजना गरेको दुईदिने क्षमता अभिवृद्धि तालिम बर्दिवासस्थित पावन मिथिला होटलमा सम्पन्न भएको छ। साउन ६ र ७ गते सम्पन्न तालिममा सचिवालयका कर्मचारीहरूको कार्यदक्षता, सार्वजनिक सम्पत्ति व्यवस्थापन, रणनीतिक प्रतिवेदन लेखन र प्रभावकारी सञ्चार सीपमा अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

तालिमका मुख्य विषयवस्तुहरू यस प्रकार थिए:

सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS):

प्रशिक्षक पाम्स विज्ञ, राधेश्याम गिरीले प्रणालीको परिभाषा, कानुनी तथा व्यवहारिक पक्ष र कर्मचारीको भूमिकाबारे जानकारी गराए।

संसदीय प्रतिवेदन लेखन:

प्रशिक्षक संघीय संसद सचिवालयका विज्ञ कर्मचारी गोपाल सिग्देलले विषयगत समितिको वार्षिक प्रतिवेदन ढाँचा, निगरानी तथा मूल्याङ्कन प्रतिवेदन लेखन सम्बन्धी प्रशिक्षण दिए।

रणनैतिक सञ्चार तथा प्रस्तुतिकरण सीप:

सञ्चार विज्ञ रुपेश श्रेष्ठले स्पष्ट तथा प्रभावकारी सञ्चारका तत्वहरू, कार्यस्थलमा देखिने सञ्चार चुनौतीका समाधान, मञ्च सञ्चालन, आत्मविश्वास अभिवृद्धि तथा व्यवहारिक अभ्यासमार्फत सहभागीहरूलाई सक्रिय बनाए।

तालिमको उद्घाटन सत्रमा प्रदेश सभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाले स्वागत मन्तव्य राखेका थिए। UNDP प्रतिनिधि विटु बाबु श्रीवास्तवले शुभकामना मन्तव्य राख्दै यस्तो तालिमले सरकार प्रणालीलाई अझ उत्तरदायी बनाउने विश्वास व्यक्त गरे।

समापन सत्रमा सहभागीहरूले तालिमलाई व्यवहारिक, उपयोगी र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन्। सञ्चार र प्रतिवेदन लेखन सीपमा आएको स्पष्टता र आत्मविश्वासले दैनिक कार्यसम्पादनमा प्रत्यक्ष रूपमा मद्दत पुर्‍याउने धारणा व्यक्त गरेका थिए।

दुईदिने तालिमले कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धि गर्नेदेखि प्रशासनिक पारदर्शिता र सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। आयोजक संस्थाहरूले यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको