६ साउन, मधेश प्रदेश –
मधेस प्रदेशका सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा, र बारासहितका जिल्लामा जनमत पार्टीले परम्परागत दलहरूका गढहरू एकपछि अर्को गरी भत्काउन थालेको छ। जनमत पार्टी जनविश्वास जित्दै मधेसमा नयाँ राजनीतिक विकल्पका रूपमा उदाइरहेको छ।
पार्टीका अध्यक्ष डा. सिके राउतको प्रभावशाली नेतृत्वमा जनमतले जनहित केन्द्रित राजनीति अघि बढाएको छ। राजनीतिक विश्लेषकहरूले भनेका छन् कि परम्परागत दलका कार्यकर्ताहरूको नेतृत्वभित्रको असन्तुष्टिका कारण धेरैले जनमतलाई रोज्न थालेका छन्।
पार्टीका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार जनमतले गरीब, दलित, जनजाति र सीमान्तकृत वर्गका मुद्दाहरू उठाउँदै पीडितहरूको आवाज बनेको छ। “धनी र स्वार्थी वर्गको सहारामा राजनीति गर्ने हाम्रो संस्कार छैन, हामी जनताको सेवा गर्न आएका हौं, शासन गर्न होइन,” उनले भने।
जनमतको लोकप्रियताले मधेसी जनताको सोच, अपेक्षा र विश्वासमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। जसपाको गढ भत्किनुलाई संगठन कमजोरी मात्र नभई जनचेतनाको व्यापक विस्तारको संकेत मानिएको छ।
सिके राउतको नेतृत्वमा जनमतले मधेससंगै राष्ट्रिय राजनीति पुनः परिभाषित गर्ने सम्भावना बोकेको छ। पार्टीको स्पष्ट एजेण्डा, वर्गीय पक्षधरता र सशक्त संगठनले मधेसी युवाहरूमा विश्वास जगाएको छ। यो प्रवृत्ति यस्तै जारी रह्यो भने जनमत भविष्यमा निर्णायक शक्ति बन्न सक्छ।









