६ साउन, बर्दिवास, महोत्तरी – मिथलेश महतो/अमिशा पौडेल
मधेश प्रदेश सभा सचिवालयको आयोजना तथा संसद सहयोग परियोजना, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरूका लागि सार्वजनिक सम्पत्ति व्यवस्थापन, प्रतिवेदन लेखन तथा रणनीतिक सञ्चारसम्बन्धी दुईदिने तालिम बर्दिवासमा सुरु गरिएको छ।
साउन ६ गते बाट सुरु भएको तालिम बर्दिवासस्थित पावन मिथिला होटलमा सञ्चालित भइरहेको छ। तालिमको उद्देश्य सचिवालय कर्मचारीहरूको सीप अभिवृद्धि गर्दै सार्वजनिक सेवा प्रणालीलाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउनु रहेको छ।
तालिमको उद्घाटन सत्रमा प्रदेश सभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे। उनले सार्वजनिक सेवा प्रभावकारी बनाउन कर्मचारीहरूको दक्षता वृद्धि अपरिहार्य रहेको बताए।

त्यसैगरी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) का प्रतिनिधि विटु बाबु श्रीवास्तवले शुभकामना मन्तव्य दिँदै संसद र सचिवालयबीचको सहकार्यले संस्थागत क्षमता वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

तालिमको पहिलो दिन पहिलो सत्रमा सार्वजनिक सम्पति व्यवस्थापन प्रणाली (Public Asset Management System/PAMS) को परिचय, त्यसको आवश्यकता, उपयोगिता, तथा सचिवालय कर्मचारीको भूमिका बारेमा पाम्स वि. बाराका राधेश्याम गिरिले प्रशिक्षण दिएका छन्।

त्यसपछि दोस्रो सत्रमा संविधान अनुकूल प्रतिवेदन लेखनको प्रक्रिया, वार्षिक प्रतिवेदन तयार गर्ने तरिका, संसदीय निगरानी प्रतिवेदन लेखन, तथा बिलबजेटको लेखाजोखा सम्बन्धी प्रतिवेदन लेखनमा मूल्याङ्कन र दैनिक सवाल बारेमा सङ्घीय संसद सचिवालयका गोपाल सिग्देलले प्रशिक्षण दिएका छन्।

दुई दिनसम्म सञ्चालन हुने तालिमले कर्मचारीहरूको ज्ञान र सीपमा गुणात्मक सुधार ल्याउने विश्वास आयोजक संस्थाको रहेको छ।

तालिमको अन्त्यमा सिकाइ समिक्षा, सहभागीहरूको प्रस्तुति तथा प्रतिवेदन तयार गर्ने अभ्यास समेत गरिनेछ। सहभागीहरूको सक्रियता र चासोले तालिमलाई अझ प्रभावकारी बनाएको आयोजक पक्षले जनाएको छ।










