५ असार, कलैया, बारा।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।
सोमबार बारा जिल्लाको कलैयामा आयोजित पार्टी प्रवेश तथा सभा कार्यक्रममा बोल्दै उनले जनमत पार्टीको नेतृत्वमा बनेको सरकारलाई बदनाम गर्न निरन्तर अफवाह फैलाउनेहरू सक्रिय रहेको टिप्पणी गरे।

“जनमतको नेतृत्वमा सरकार बनेदेखि नै आज ढल्छ, भोलि ढल्छ भन्ने हल्ला फैलाउनेहरू सक्रिय छन्,” उनले भने, “तर सरकारले जनताको पक्षमा काम गर्दै १३ महिना सफलतापूर्वक पार गरिसकेको छ।”
मुख्यमन्त्री सिंहले आफू कुर्सीप्रेमी नभएको उल्लेख गर्दै जनताको पक्षमा काम गर्न पाए कुर्सीमा बस्ने र नपाए खुशीसाथ छोड्न तयार रहेको धारणा राखे। “जनताको पक्षमा काम गर्न पाए कुर्सीमा बस्ने, नत्र खुशीसाथ छोड्न तयार छु,” उनले भने।
उनले केही समूह सरकारको सफलताबाट असहज महसुस गर्दै अफवाह फैलाउने काममा लागेको आरोपसमेत लगाए। “सरकारले गर्ने सकारात्मक कामले केही समूहलाई अप्ठ्यारो परिरहेको छ,” सिंहले दाबी गरे।
कार्यक्रममा उनले पार्टी सुदृढीकरणका लागि सरकारसँगै संगठन पनि बलियो बनाउने अभियान जारी रहेको उल्लेख गरे।









