५ साउन, काठमाडौं — सर्वसाधारणलाई सेयर बिक्री गरी पहिलोपटक पब्लिक कम्पनी बनेको नेपाल रिपब्लिक मिडिया लिमिटेड भित्र श्रमजीवी पत्रकारको हकहितमाथि भएको निरन्तर शोषण, प्रतिशोध र दुव्र्यवहारका कारण तीव्र असन्तुष्टि चुलिएको छ। यसले कम्पनीभित्र गम्भीर भाँडभैलोको अवस्था सिर्जना भएको कर्मचारीहरूको आरोप छ।
पत्रिका ननिस्कने अवस्था, कर्मचारी दुव्र्यवहार
बिहीबार नागरिक दैनिक पत्रिका नै ननिस्किएको समाचार रातोमसी डटकमले प्रकाशित गरेपछि विवाद सतहमा आएको हो। जानकारीअनुसार रातभर पत्रिका निर्माण प्रक्रिया रोकिएको र बिहान ८ बजे केही प्रति मात्र देखावटीका रूपमा निकालीएको हो।
कर्मचारीहरूका अनुसार पत्रिका बन्द हुने अवस्थामा पु¥याउने प्रमुख कारण भनेको व्यवस्थापन र सम्पादकीय नेतृत्वद्वारा श्रमजीवी पत्रकार ऐनविपरीत गरिएको व्यवहार हो। श्रम ऐनअन्तर्गत कुनै सुविधा नदिएको र अदालतको आदेशसमेत सम्पादकको दबाबमा बेवास्ता गरिएको गुनासो गरिएको छ।
व्यवस्थापनद्वारा प्रतिशोध र धम्की
श्रमजीवी पत्रकार ऐन लागू गर्न माग गर्दै व्यवस्थापन समक्ष पुगेका पत्रकारलाई *प्रबन्ध निर्देशक समृद्धि ज्ञवाली* र *सम्पादक गुणराज लुइँटेल*ले सार्वजनिक रूपमा गालीगलौज, हप्कीदप्की र धम्की दिएको आरोप छ। असार ३ गते भएको छलफलमा उनीहरूले पत्रकारलाई *राजनीति नगर्न, अरूलाई नउक्साउन र तत्काल निर्णय लिनु पर्ने दबाबसमेत दिएका थिए।
व्यवस्थापनद्वारा नियोजित शोषण र मानसिक यातना
कम्पनीभित्र काम गर्ने पत्रकार, डिजाइनरलगायत कर्मचारीहरूलाई विभिन्न बहानामा पटक–पटक स्पष्टीकरण माग्दै मानसिक रूपमा हैरान पारिएको छ। कतिपयलाई काम नदिने, समाचार नछाप्ने, चिया पिउन वा बोल्नसमेत रोक लगाउने जस्ता निर्देशन दिइएको बताइएको छ।
पत्रकार महासंघका शाखा सभापति रघुनाथ लामिछानेलाई नेपालगञ्ज सरुवा गरिनु, अन्य पत्रकारहरूमाथि निरन्तर मानसिक दबाब र हकमर्यादामाथि हस्तक्षेप हुनु त्यसैको प्रमाण हो। सम्पादकीय समूहका केही ‘चाटुकार’ले अरूको निगरानी गर्ने जिम्मेवारी लिई तलब बुझ्दै आएका छन् भन्ने आरोप पनि लगाइएको छ।
सरकारी राहत रकमको अपारदर्शिता
कोरोना महामारीको बेला सरकारले सस्तो ब्याजदरमा प्रदान गरेको २० करोड रुपैयाँ कर्मचारीलाई सुविधा दिनका लागि भित्र्याइएको भए पनि अधिकांश पत्रकारले अझैसम्म पूर्ण तलब नपाएको गुनासो छ। सो रकम कहाँ खर्च भयो भन्ने विषयमा समेत पत्रकारहरूले प्रश्न उठाएका छन्।
पत्रिका बन्द गर्ने योजना?
तीन वर्षअघि पब्लिक कम्पनी बनेको यो संस्थामा अब मालिकहरू आफ्नो सेयर बिक्री गर्न सक्ने अवस्था आउँदैछ। कर्मचारीहरूका अनुसार यही बहानामा साना सेयर होल्डरहरूलाई धोका दिई कम्पनी बन्द गर्ने योजना अनुरूप अहिलेको अवस्था सिर्जना गरिएको हो।
पत्रकार संगठनहरूको चेतावनी
नेपाल पत्रकार महासंघ, श्रमजीवी–पत्रकार संघ नेपाल, नेपाल प्रेस युनियन, प्रेस चौतारी लगायतका संगठनहरूले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्। पीडित पत्रकारहरू अब आन्दोलनमा उत्रने तयारीमा छन् भने कानुनी लडाइँ पनि सँगै लड्ने चेतावनी दिइएको छ।









