२ साउन, राजविराज — मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज जिल्ला प्रशासन कार्यालय, सप्तरीमा आम नागरिकसरह टोकन प्रणाली प्रयोग गरी सेवा लिनुभएको छ।
उहाँले कार्यालयबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्नुका साथै लाइनमा बसेर राष्ट्रिय परिचयपत्रसमेत लिनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिनुभयो।
“आमजनताले जस्तै टोकन प्रणालीमार्फत सेवा लिँदै मुख्यमन्त्रीज्यूले पनि सेवा लिनुभएको हो,” उहाँले भन्नुभयो।

सेवाको अवस्था अवलोकन गर्दै मुख्यमन्त्री सिंहले सेवा प्रवाह अझ प्रभावकारी र जनमैत्री बनाउन प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग छलफल गर्नुभएको थियो।
मुख्यमन्त्रीले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका नियमित सेवाहरू चुस्त र सहज रूपमा प्रदान गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको जनाइएको छ।









