१ साउन, धनुषा । सर्लाही जिल्लाका डिभिजनल वन अधिकृत (DFO) सन्तोष कुमार झाले सागरनाथ वन विकास परियोजना तथा सर्लाही जिल्लामा वन अतिक्रमण नियन्त्रण र व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएबापत मधेश प्रदेश सरकारले विशेष सम्मान प्रदान गरेको छ।
जनकपुरधाममा बिहीबार आयोजित एक विशेष कार्यक्रममा प्रदेश सरकारका माननीय मुख्यमन्त्री सतिश कुमार सिंह, वन तथा वातावरणमन्त्री माननीय संजयकुमार यादव र मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले डिएफओ झालालाई औपचारिक रूपमा कदर पत्रसहित सम्मान गरे।
कार्यक्रममा बोल्दै बन तथा वातावरण मन्त्री यादवले वन सुरक्षाका लागि योगदान दिने कर्मचारीलाई निरन्तर प्रोत्साहन आवश्यक रहेको उल्लेख गर्दै भने, “अब उत्कृष्ट काम गर्ने कर्मचारीलाई मात्र होइन, सबै तहका वन कर्मचारीलाई पनि सम्मान र हौसलाको खाँचो छ।”
उनले वन अतिक्रमण रोक्न जग्गा संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए। “सौ वर्ष जीनेके लिए सौ वर्ष उम्र नहीं चाहिए, कुछ अइसे काम करो कि सौ वर्ष याद किया जय…?,” उनले प्रेरणात्मक भनाइ प्रस्तुत गरे।
सम्मान ग्रहण गर्दै डिएफओ झाले यो आफ्नो सेवाजिवनमा प्राप्त पहिलो उच्चस्तरीय सम्मान भएको बताउँदै प्रदेश सरकारप्रति आभार प्रकट गरे। “यो सम्मानले थप जिम्मेवार बन्ने प्रेरणा दिएको छ,” उनले भावुक हुँदै प्रतिक्रिया दिए।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री सतिश कुमार सिंहले वन सेवासँगै प्रदेश सरकार अब नागरिक सरोकारसँग जोडिएको बीमा कार्यक्रममार्फत दैवीक प्रकोपका पीडितलाई राहत दिनेतर्फ अग्रसर भएको जानकारी गराए। उनले भने, “पहिरो, आगलागी वा अन्य विपद्ले घरवार गुमाउने घटनाप्रति अब प्रदेश सरकार गम्भीर हुँदै छ, छतिपूर्तिका लागि बीमा कार्यक्रमलाई प्राथमिकतामा राख्दै घोषणा गरेको छ ।
कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी वनकर्मी, सरोकारवाला, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









