२६ साउन, धनुषा — चोरीको आरोपमा पक्राउ परेका १५ वर्षीय बालकलाई हिरासतमा कुटपिट तथा डर धम्की दिएको आरोपपछि जिल्ला प्रहरी कार्यालय धनुषाविरुद्ध छानबिन सुरु गरिएको छ।
मंगलबार राति धनौजी गाउँपालिका–२ निवासी रोहित पण्डितलाई चोरी अभियोगमा पक्राउ गरी हिरासतमा लिइएको थियो। परिवारका अनुसार हिरासतमा रोहितलाई पाइप र बन्दुक देखाउँदै पटक–पटक कुटपिट गरी जबरजस्ती अपराध स्वीकार गर्न दबाब दिइएको थियो।
पीडित बालकले अनुसन्धान शाखाका निरीक्षक सञ्जीव यादव मातहतका एक प्रहरीलाई कुटपिटमा संलग्न रहेको भन्दै चिनाएका छन्। बालकका अनुसार, “मैले चोरी नगरेको भनेपछि कनपटीमा बन्दुक ताकेर डर देखाइएको थियो।”
उक्त घटनामा रोहित पण्डितसहित १४ वर्षीय सुमित पण्डित र १६ वर्षीय रोहित साहलाई पनि नियन्त्रणमा लिइएको थियो। तर, अत्यधिक यातना रोहित पण्डितलाई मात्र दिइएको आरोप लागेको छ।
प्रहरी चौकी धनौजीका इन्चार्ज असई हर्कबहादुर श्रेष्ठले जनप्रतिनिधिको दबाबमा बालकहरूलाई झूठो आरोपमा पक्राउ गरिएको परिवारको आरोप रहेको जानकारी दिएका छन्।
घटनापछि डिएसपी सिंहको नेतृत्वमा प्रारम्भिक छानबिन सुरु गरिएको छ। प्रहरी स्रोतका अनुसार दोषी प्रमाणित भएमा विभागीय कारबाही गरिनेछ।









