२६ असार, धनुषा — मिथलेश महतो/अनिशा पौडेल
मुख्यमन्त्री सतिश कुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय बनेको बताएका छन्। उनले जलवायु परिवर्तन र वातावरणीय अव्यवस्थाले प्राकृतिक प्रकोपको जोखिम बढाएको उल्लेख गर्दै चुरे संरक्षणमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए।
राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा आयोजित प्रदेशस्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठकको बिहीबार धनुषाको लालगढमा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतराको संकेत भएको बताए।
चुरे क्षेत्र मरुभूमीकरणको जोखिममा रहेको उल्लेख गर्दै उनले नदीजन्य पदार्थको वातावरणमैत्री उत्खनन आवश्यक रहेको बताए। वातावरणमैत्री तरिकाले उत्खनन गरिएमा प्राप्त नदीजन्य स्रोतको निर्यातबाट आम्दानी समेत बढाउन सकिने उनले सुझाए।
प्रदेश सरकार गठनपछि आर्थिक वर्ष २०८१/८२ मा ७१.४८ प्रतिशत बजेट खर्च भएकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री सिंहले यो उपलब्धिका लागि प्रदेश सरकार मातहतका कर्मचारी, सरोकारवाला निकाय र सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे।









