
२२ असार, महोत्तरी — महोत्तरीको औरही नगरपालिका–७ स्थित भोयल टिमकियाको कृषि सडकमा ११ हजार भोल्टको विद्युत् तार चुँडिएर खस्दा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ।
ज्यान गुमाउनेमा रामगोपालपुर नगरपालिका–५, कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया रहेका छन्। उनी सो क्षेत्रमा कलभर्ट निर्माणको काममा संलग्न थिए। काम गर्ने क्रममा अचानक माथिबाट विद्युत् तार खस्दा उनलाई करेन्ट लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको स्थानीय रोशनकुमार यादवले जानकारी दिए।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको र हाल घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
स्थानीयवासीहरूले विद्युत् प्राधिकरणको लापरवाहीकै कारण यस्तो दुर्घटना भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनका अनुसार, चार वर्षअघि पनि औरहीको पावर हाउस नजिकै यस्तै प्रकारको ११ हजार भोल्टको तार चुँडिएर खस्दा एक व्यक्तिको घाँटी काटिएर मृत्यु भएको थियो।
दुर्घटनाका दोहोरिंदो घटनाले विद्युत् संरचनाको मर्मत तथा जाँचमा सरोकारवालाको ध्यान नपुगेको देखिएको स्थानीयको भनाइ छ।