बर्दिवास खानेपानी संस्थामा किचलो: कोषाध्यक्षको धारा काट्दा बबाल, कुटपिटसम्म पुग्यो विवाद


 

२२ असार, बर्दिवास, महोत्तरी –

बर्दिवास साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आन्तरिक विवाद अब सतहमा आएको छ । संस्थाकै कोषाध्यक्ष भोजप्रसाद फुयाँलको घरमा धारा काट्न पुगेका कर्मचारी तथा सदस्यमाथि कुटपिट भएपछि विवाद सार्वजनिक भएको हो ।

संस्थाको कोषाध्यक्ष फुयाँलले आफ्नी श्रीमतीलाई धारा काट्न आएको समूहले अभद्र व्यवहार गरेको दाबी गर्दै प्रतिरक्षा स्वरूप आफैंले हस्तक्षेप गरेको बताएका छन् । तर संस्थाका अध्यक्ष भुलन सेनले भने कोषाध्यक्षकै अराजकताले सिमा नाघेकाले कानुनी बाटो रोजिएको स्पष्ट पारे । शनिबार आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले ५० हजारभन्दा बढी महसुल बक्यौता रहेका उपभोक्तामाथि चलाइएको अभियान अन्तर्गत कोषाध्यक्षको पनि धारा काटिएको बताएका छन् ।

अध्यक्ष सेनका अनुसार संस्थामा झण्डै ६ हजार उपभोक्तामध्ये करीब ३०० जनाले अत्यधिक महसुल तिर्न बाँकी राखेका छन् । पटक–पटक सूचना दिँदा पनि महसुल नतिर्नेहरूमाथि बाध्य भएर धारा काट्ने निर्णय गरिएको उनको भनाइ छ ।

संस्थाका व्यवस्थापक भवनाथ खतिवडाका अनुसार पहिले १ लाख बढी बक्यौता भएका उपभोक्ताको धारा काटिएको थियो । त्यसपछि ५० हजारभन्दा बढी बक्यौता भएकाको धारा काट्ने क्रममा फुयाँलको नाम पनि सूचीकृत भएपछि उनको धारा बिहीबार काटिएको हो । उनले शुक्रबार रकम बुझाएपछि शनिबार धारा पुनः जडान गरिएको जानकारी दिइयो ।

विवादको जरो:

संस्थाको आर्थिक कारोबार अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट मात्र हुने विधान अनुसार पहिलो महिनाको तलब वितरण गरिएको थियो । तर, कोषाध्यक्ष फुयाँलले लेखापालसँग चेकमा हस्ताक्षरको सट्टा ३ हजार रुपैयाँ मागेको आरोपपछि विवाद चुलिएको हो ।

लेखापालले उक्त कुरा कार्यसमितिमा पुर्याएपछि फुयाँलले लेखापाललाई हटाउने अडान लिए र कार्यालय आउन छाडे । कोषाध्यक्षले आफ्नो नियुक्ति नै अवैध भन्दै लेखापाल हटाउन माग गरेपनि अध्यक्ष सेनले भने माग फत्तुर भएको जिकिर गरेका छन् ।

तीन महिना तलब नपाएको कर्मचारीको दबाबपछि उपभोक्ता भेलाबाट विधान संशोधन गरियो । नयाँ व्यवस्थाअनुसार अब अध्यक्षसहित कुनै दुई व्यक्तिको हस्ताक्षरले आर्थिक कारोबार सम्भव हुने बनाइएको छ ।

यही संशोधनप्रति असन्तुष्ट बनेका फुयाँलले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए, जसले पुरानो विधानअनुसार चल्न नगरपालिकालाई निर्देशन दिएको थियो । तर, खानेपानी संस्था संशोधित विधानअनुसार सञ्चालन भइरहेकाले फुयाँल उच्च अदालत जनकपुर पुगे । अदालतले उनको रिट प्रारम्भिक सुनुवाइमै खारेज गरिदिएपछि संस्थाको बाटो खुलेको व्यवस्थापक खतिवडाको भनाइ छ ।

आर्थिक अनियमितता र लेखा परीक्षण

संस्थाले हालै आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गराएर ६ लाख बढी राजस्व दाखिला गरिसकेको छ । परीक्षण प्रतिवेदनमा अध्यक्ष र कोषाध्यक्षको संयुक्त नाममा १.५ लाख बढी बेरुजु देखिएको छ । ५०० बोरा सिमेन्टको बिल भए पनि प्रयोग विवरण नदिएको भन्दै लेखा परीक्षकले बेरुजु देखाएका हुन् ।

अबको योजना अनुसार साउनभित्र लेखा परीक्षण सकाएर भदौमा साधारणसभा आयोजना गरिनेछ । अध्यक्ष सेन भन्छन्, “अब भदौको साधारणसभाले सबै कुरा उजागर गर्नेछ – कसले बदमासी गर्‍यो भन्ने छर्लङ्ग हुन्छ ।”उपभोक्ताले दिएको जिम्मेवारीप्रति आफु कर्तव्यबद्ध रहेको बताउँदै सेनले संस्थालाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको