
महोत्तरी, अषाढ २० – मनराशिस्वा नगरपालिकाले नगरभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विषयगत शिक्षकहरूसँग माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को परीक्षाफल समिक्षा तथा आगामी शैक्षिक वर्षको तयारी विषयमा महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न गरेको छ।
नगर प्रमुख श्री मोहन पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख श्री संजय कुमार यादव र शिक्षा संयोजक श्री श्याम नन्दन सिंहको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी शिक्षक र विद्यालय प्रमुखहरूले SEE परीक्षाफलको विश्लेषण गर्दै शैक्षिक गुणस्तर सुधारका उपायहरूबारे विस्तृत छलफल गरेका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख मोहन पाण्डेयले भने, “हाम्रो नगरपालिकाको दिगो विकासको मूल आधार शिक्षा हो। हामी विद्यालयको शैक्षिक गुणस्तरमा अझ सुधार ल्याउन प्रतिवद्ध छौं। यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकार सबैको समन्वय अपरिहार्य छ। परीक्षाफल केवल संख्याको कुरा होइन, यो हाम्रो शिक्षाको दर्पण हो। अब हामी परिणाममुखी शिक्षामा केन्द्रित हुनुपर्छ।”
उनले आगामी दिनमा सिकाइ उपलब्धि अभिवृद्धिका लागि आवश्यक स्रोतसाधन व्यवस्थापन, शिक्षक क्षमता विकास तालिम, नियमित मूल्याङ्कन प्रणालीको विकास, र अभिभावकसँगको सहकार्यमा विशेष ध्यान दिइने जानकारी समेत दिए।
शिक्षा प्रमुख यादव र संयोजक सिंहले पनि नगरस्तरमा शिक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको बताउँदै समावेशी, गुणस्तरीय र जिम्मेवार शैक्षिक वातावरण निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमले आगामी शैक्षिक सत्रलाई अझ प्रभावकारी बनाउने तथा शिक्षाको स्तर उकास्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।