१८ असार, वीरगञ्ज — राजधानीबाहिरको प्रमुख सरकारी स्वास्थ्य संस्था मानिने नारायणी अस्पतालमा पुनः एकपटक गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ। उपचारका क्रममा बिरामीको शरीरमै सर्जिकल ब्लेड छाडिएको पाइएको छ, तर जिम्मेवार चिकित्सकहरू ‘थाहा छैन’ भन्दै पन्छिन खोजिरहेका छन्।
वीरगञ्ज महानगरपालिका–२४, रमगढवाका १९ वर्षीय पप्पु पटेल सोमबार राति करिब ९ बजे मोटरसाइकल दुर्घटनामा परी काँधमा गम्भीर चोट बोकेर नारायणी अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका थिए। घटनास्थलमा सडकमा छाडिएको फलामको रड काँधमा गाडिँदा घाइते भएका उनलाई तत्काल प्राथमिक उपचार स्वरूप टाँका लगाइएको थियो।
तर, उपचारका लागि आवश्यक ग्लोभ्स, गज, टेपजस्ता आधारभूत सामग्रीसमेत अस्पतालमा उपलब्ध नभएपछि बिरामीका साथीहरूले १५० रुपैयाँ जुटाउन आफ्नै मोबाइल फोन बन्धकी राख्नुपरेको थियो।
राति घर फर्काइएका पप्पुलाई असह्य पीडा भएपछि मङ्गलवार बिहान निजी एक्स-रे केन्द्रमा परीक्षण गराउँदा काँधभित्रै सर्जिकल ब्लेड देखिएको हो। यस्तो गम्भीर लापरबाहीले बिरामीको ज्यान नै जोखिममा परेको भन्दै बिरामी परिवार आक्रोशित बनेका छन्।
पुनः अस्पताल फर्किएर चिकित्सकसँग सोधपुछ गर्दा ड्युटीमा रहेका चिकित्सकले “म हिजो थिएन, मलाई थाहा छैन” भन्दै पन्छिन खोजेको बिरामी पक्षको आरोप छ। आकस्मिक कक्ष प्रमुख डा. कृष्ण साहले राति डा. दीपक चौरसिया ड्युटीमा रहेको जानकारी दिए। तर, डा. चौरसियाले “ब्लेड घाइते भएको ठाउँबाटै भित्र पसेको हुन सक्छ” भन्दै आफ्नो लापरबाही नभएको दाबी गरेका छन्।
उनको यस्तो स्पष्टीकरणले चिकित्सकहरूको गैरजिम्मेवारीपन र संवेदनहीनता उजागर भएको भन्दै बिरामी परिवारले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले प्रश्न गरेका छन् — “यदि ब्लेड सडकमै थियो भने, के उपचार पनि सडकमै गरिएको हो?”
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमान लान दासले आफूलाई घटनाबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले भने, “यदि यस्तो लापरबाही पुष्टि भयो भने छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गरिनेछ।”
बिरामी पक्षले तत्काल निष्पक्ष छानबिन गरी दोषी चिकित्सक र संलग्न स्वास्थ्यकर्मीलाई कारबाही गर्न माग गरेका छन्।











