१७ असार, झापा — विर्तामोड नगरपालिका–५ का बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन्।
१७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुलाई विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले घरमै पुगी अपाङ्गता वर्ग ‘क’ अन्तर्गतको रातो कार्ड प्रदान गरेका हुन्।
उपप्रमुख सङ्ग्रौलाका अनुसार, उनीहरूमध्ये इन्तुसा लिम्बुको अवस्था गम्भीर छ र उनी आफैँ उठ्नबस्नसमेत सक्दिनन्। तीनैजनालाई सरकारले उपलब्ध गराउँदै आएको ‘क’ वर्गको अपाङ्गता भत्तासमेत प्रदान गरिने जानकारी दिँदै उनले उपचारमा पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।
तीनजना छोरीमध्ये तीनैजना एकैपटक जन्मिएकी हुन्। आमा मनकुमारी शेर्माले चार छोरीमध्ये ती तिम्ल्याहालाई आफैँ स्याहार–सुसार गरिरहेको बताइन्। “एकै पटक तीन सन्तान जन्मिँदा खुशीको सीमा थिएन,” उनले भनिन्, “तर दुःख लाग्छ, एउटी छोरी कहिल्यै ओछ्यानबाट उठ्न सक्दिनन्।”
नगरपालिकाले उनीहरूको अवस्थालाई मध्यनजर गर्दै सेवा घरमै पु¥याएको हो।









