नागरिकता विधेयकबाट समस्या समाधान हुने विश्वास : सांसदहरू


१४ असार, काठमाडौं— नागरिकता सम्बन्धी नयाँ विधेयक प्रतिनिधिसभामा छलफलमा रहेको सन्दर्भमा विभिन्न सांसदहरूले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

सांसद रामकृष्ण यादवले विधेयक पारित भई कार्यान्वयनमा आएपछि नागरिकतासम्बन्धी दीर्घकालीन समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। विशेषतः तराईका जिल्लाहरूमा नागरिकता नपाएका व्यक्तिहरू राज्यका सेवा-सुविधाबाट वञ्चित भएको उल्लेख गर्दै, उहाँले विधेयकले त्यस्ता समस्या अन्त्य गर्न भूमिका खेल्ने बताउनुभयो।

सांसद रञ्जुकुमारी झाले आमाको नामबाट पनि नागरिकता दिन सकिने सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने किसिममा विधेयक आएको स्पष्ट पार्नुभयो।

तर सांसद चित्रबहादुर केसीले भने भारतसँगको खुला सीमाका कारण उत्पन्न नागरिकता विवाद र समस्यालाई यो विधेयकले समाधान गर्न नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। नागरिकताको संवेदनशील विषयमा गम्भीर बहस आवश्यक रहेको उहाँको धारणा थियो।

विधेयकमाथि सांसदहरू रुपा सोशी चौधरी, शेरबहादुर कुँवर, माधव सापकोटा, मुक्ताकुमारी यादव, नारायणी शर्मा, पूर्णबहादुर घर्ती, भगवती चौधरी, अमृतलाल राजवंशी, कान्तिका सेजुवाल, सुशिला थिङ, अमृतादेवी अग्रहरीलगायतले पनि आ-आफ्ना विचार राख्नुभएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक असार १५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको