सप्तरीमा ‘रामानन्द सिंह थारु संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र’ स्थापना हुने


१२ आषाढ, सप्तरी —

थारु समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सप्तरीमा ‘रामानन्द सिंह थारु संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारु संग्रहालय’ स्थापना हुने भएको छ।

यसका लागि मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको बजेटमार्फत २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यो केन्द्र स्थापना गर्न लागिएको प्रयासलाई थारु समुदायको सांस्कृतिक पहिचान जगेर्नाको ऐतिहासिक पाटोका रूपमा हेरिएको छ। जनमत पार्टी नेतृत्वको सरकारद्वारा अघि सारिएको यो योजना हालसम्म कुनै पनि राजनीतिक दलबाट नदेखिएको गम्भीर चासोको संकेतको रूपमा पनि लिइएको छ।

थारु नेता रामानन्द सिंहको योगदान स्मरणीय

स्वर्गीय रामानन्द सिंह थारु भाषा, संस्कृति र सामाजिक रूपान्तरणका अगुवा थिए। उनले थारु समाजमा प्रचलित कुरीति जस्तै कन्यायौति प्रथा, मृत्यु पश्चातको मासिक कर्म प्रथा, र विवाहमा हुने फजुल खर्चविरुद्ध जनचेतना अभियान चलाएका थिए। आफ्नो पिताको नाममा २० बिगाहा जग्गा दान गरेर ‘श्री महिकर माध्यमिक विद्यालय’ स्थापना गर्नु उनका समाजप्रतिको योगदानको जीवित उदाहरण हो।

सिंहले ‘थारु संस्कृति’ नामक संस्था गठन गरी सोही नाममा नियमित पत्रिका प्रकाशन गरेका थिए। साथै, संयुक्त राष्ट्रसंघ (यूएन) मा नेपालबाट प्रतिनिधित्व गर्दै थारु तथा अन्य आदिवासी समुदायका अधिकारबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाएका थिए। २०४७ सालको संविधान निर्माणमा उनी मस्यौदाकारको रूपमा पनि सक्रिय थिए।

साहित्य र अनुसन्धानमा योगदान

रामानन्द सिंह थारुका थुप्रै कृति थारु समुदायको बौद्धिक सम्पत्तिको रूपमा रहेका छन्। उनले “The Real Story of the Tharus” नामक पुस्तकमार्फत थारु समुदायको ऐतिहासिक र सामाजिक अवस्थामाथि प्रकाश पारेका छन्। साथै, गीता र बौद्ध धर्मसम्बन्धी एक दर्जनभन्दा बढी पुस्तकहरू थारु भाषामा अनुवाद गरेका छन्, जसले थारु साहित्यमा गहिरो योगदान पुर्‍याएको छ।

यो वर्षदेखि विधिवत् कार्यान्वयन

जनमत पार्टीका अनुसार केन्द्र स्थापनाको प्रक्रिया यो आर्थिक वर्षदेखि औपचारिक रूपमा थालिनेछ। यस पहलले थारु समुदायभित्र उत्साह र गर्वको भावना पैदा गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको