११ आषाढ, बर्दिवास
बर्दिवास नगरपालिकाको सहयोगमा सञ्चालित ६० दिने निःशुल्क सिलाई–कटाई तालिम सफलतापूर्वक सम्पन्न भएको छ। बर्दिवास–३ मा सम्पन्न तालिमले सहभागी २० जना महिलाहरूमा सीप, आत्मविश्वास र उद्यमशीलताको भावना विकास गरेको छ।
तालिममा सहभागी रेखा ढुंगेल भन्छिन्, “पहिला मलाई लाग्थ्यो, मेरो क्षमता घरभित्रै सीमित छ। अब म आफूले तयार गरेको कपडाको व्यापार गर्न सक्छु भन्ने विश्वास मनभित्र पलाएको छ।”
बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा समृद्धि कन्सलटेन्सी ट्रेनिङ्ग एन्ड मिडिया सेन्टर प्रा.लिले संचालन गरेको तालिममा कपडा काट्ने, सिलाउने, डिजाइन गर्ने र मापन लिनेजस्ता व्यवहारिक सीपमा जोड दिइएको थियो।
समापन कार्यक्रममा नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले भने, “सिप बिना आत्मनिर्भर समाजको कल्पना गर्न सकिन्न। यस्तो तालिमले महिलालाई आत्मनिर्भर बनाउने मात्र होइन, नगरकै आर्थिक प्रणालीमा योगदान दिने माध्यम पनि बन्न सक्छ।”
उनले महिलाहरूलाई सिपलाई व्यवसायमा रूपान्तरण गर्न नगरपालिकाले साथ दिने प्रतिबद्धता जनाए।
प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले तालिमको महत्वमा जोड दिँदै भने, “सिपविना महिलालाई आर्थिक रूपमा सक्षम बनाउनु सम्भव छैन। महिलाहरू सक्षम भए घर–परिवारलाई आर्थिक बोझ बन्नु पर्दैन।”
तालिममा सहभागी अधिकांश महिला गृहिणी र बेरोजगार युवतीहरू थिए। सहभागीहरूमध्ये केहीले समूह गठन गरी नयाँ मोडेलमा व्यवसाय सुरु गर्ने तयारीसमेत गरेका छन्। अर्की सहभागी बिनिता मैनालीले भनिन्, “यो तालिमले मेरो सोचाइ बदलिदियो। अब म आफ्नै सिलाइ पसल खोल्ने सोचमा छु।”
आयोजक संस्था समृद्धि कन्सलटेन्सीकी प्रतिनिधि आरती बुढाथोकीका अनुसार, “तालिम व्यवहारमा आधारित बनाइएको थियो। सबै महिलाहरूले आफैं डिजाइन बनाउने, कपडा काट्ने र सिलाउने सीप सिकेका छन्। समापन कार्यक्रममा उनीहरू आफैंले सिलाएका पोशाकमा देखिनु नै तालिमको सफलता हो।”
नगरप्रमुख क्षेत्रीको कार्यकालमा ब्यूटीपार्लर, कम्प्युटर, लोकसेवा तयारी कक्षा लगायतका अन्य सिपमूलक तालिमहरू पनि संचालन भइसकेका छन्।
यद्यपि दीर्घकालीन सफलताका लागि बजार पहुँच, लगानी स्रोत र तालिमपछिको निरन्तर अभ्यास जस्ता चुनौतीहरू समाधान गर्नु पर्ने देखिन्छ। तैपनि, यस्तो पहलले बर्दिवासलाई महिला स्वरोजगारको नमूना नगर बनाउने दिशामा एक महत्वपूर्ण पाइला सावित हुने विश्वास गरिएको छ।









