मधेशमा शैक्षिक अवस्था दयनीय रहेको मुख्यमन्त्रीद्वारा स्वीकार


११ आषाढ, जनकपुरधाम

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेशमा शिक्षाको अवस्था अत्यन्तै दयनीय र शिर झुक्ने खालको रहेको स्विकारेका छन्। मधेशको शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा मंगलवार जनकपुरधाममा आयोजित दुईदिने राष्ट्रिय शिक्षा सम्मेलनलाई उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले सबै निकायलाई गुणस्तरीय शिक्षा सेवा प्रवाह गर्न गराउन आग्रह गरे।

मुख्यमन्त्री सिंहले विद्यालयको पठनपाठनमा व्यापक सुधार नआएसम्म विश्वविद्यालयको शिक्षाको गुणस्तर राम्रो नहुने हुँदा संघीय सरकारको सहयोग पनि अपरिहार्य भएको उल्लेख गरे।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागुऔषध दुव्र्यसनको समस्या गम्भीर बन्दै गएको समेत बताए।

‘मधेशका जनशक्तिले विगतमा शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा देशमा नेतृत्व गर्थे’, मुख्यमन्त्री सिंहले भने, ‘तर आज मधेशकै शैक्षिक अवस्था नाजुक छ।’

एक अर्कालाई देखाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले सामुदायिक विद्यालयमा अध्ययनको गुणस्तर कमजोर भएको उनको भनाइ थियो।

मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयमा लापरबाहीले गर्दा विद्यालय तहका बालबालिका लागुऔषधको दुव्र्यसनमा फसिरहेको भन्दै चिन्ता व्यक्त गरे।

उनले भने, ’विद्यालय शिक्षा सुधार गर्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा छ। लागुऔषधको दुव्र्यसन विद्यालयमै फैलिएको छ। यो नियन्त्रण गर्न ढिलो भइसकेको छ।’
मुख्यमन्त्री सिंहका अनुसार मधेशका निजी विद्यालयहरू विद्यार्थीको क्षमता विकासमा होइन, केवल प्रमाणपत्र वितरणमा सीमित छन्।

प्रदेशका शिक्षक र शिक्षिकाहरू मधेश र जनताप्रति समर्पित, जवाफदेही र बफादार भएर आ–आफ्नो काम, कर्तव्य निर्वाह गर्न गराउन सके मधेश प्रदेश पुनः शिक्षाको हब बन्ने मुख्यमन्त्री सिंहको अपेक्षा छ।

त्यसैगरी मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोजकुमार यादवले सरकारी विद्यालयमा भर्ना भएपछि अभिभावक र शिक्षक दुवैले जिम्मेवारी पूरा भयो भन्ने बुझ्दा विद्यालयमा संकट गहिरिएको उल्लेख गरे।

मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले विद्यालयको गुणस्तर सुधार्न सबैले सहयोग गर्नुपर्ने बताए। कार्यक्रमका अध्यक्ष मधेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी शर्मा तिवारीले शिक्षकहरूलाई पेशाप्रति इमान्दार भएर अध्यापन गराउन आग्रह गरिन्।

कार्यक्रममा मधेश प्रदेशका प्रधानाध्यापक, शिक्षा अधिकारी, सचिव, निर्देशक, विज्ञ र सरोकारवाला सहभागी छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको