१० अषाढ, महोत्तरी — मिथलेश महतो
सोनमा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४९ करोड ३८ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष विशेश्वरप्रसाद यादवले सोमबार आयोजित ११ औं गाउँसभामा नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका छन्।

अध्यक्ष यादवका अनुसार बजेट समृद्ध र सभ्य सोनमा गाउँपालिका निर्माणमा केन्द्रित गरिएको छ। बजेटले कृषि, शिक्षा, पर्यटन, पूर्वाधार विकास, सामाजिक समावेशीकरण र स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको छ।
बजेटका प्रमुख क्षेत्रगत प्राथमिकताहरू:
– कृषि क्षेत्रमा:
विद्युतीकरणको प्रवर्द्धन, निजी क्षेत्रको लगानी प्रोत्साहन, एकीकृत कृषि प्रणालीको विकास।
– शिक्षा क्षेत्रमा:
शैक्षिक पहुँच र गुणस्तरमा वृद्धि, सबै बालबालिकाको विद्यालयमा पहुँच सुनिश्चित, सामुदायिक विद्यालयको आधुनिकीकरण।
– पर्यटन प्रवर्द्धन:
धार्मिक र पौराणिक महत्व बोकेको क्षेत्रको प्रचारप्रसार, रोजगारी सिर्जना र आयआर्जनमा योगदान।
– भू–उपयोग र वातावरण:
वैज्ञानिक भू–उपयोग योजना कार्यान्वयन, वातावरणीय सन्तुलनसहित दिगो विकास।
– सामाजिक समावेशीकरण:
महिला, दलित, जनजाति र सिमान्तकृत समुदायको सशक्तिकरण, उद्यमशीलता र सीप विकास।
– पूर्वाधार विकास:
सडक, पुल, कृषि र पर्यटन पूर्वाधारको निर्माण र विस्तारमा तीव्रता।
– स्वास्थ्य सेवा:
सेवा घरदैलोमै पुर्याउने व्यवस्था, सरकारी फार्मेसी स्थापना, पोषण र सरसफाईको सुनिश्चितता।
– प्रशासनिक सुधार:
सेवा प्रवाह चुस्त र पारदर्शी बनाउन प्रशासनिक संरचनाको कार्यान्वयन।
अध्यक्ष यादवले प्रस्तुत बजेट र कार्यक्रमले सोनमालाई सामाजिक, आर्थिक र पर्यावरणीय दृष्टिले समृद्ध बनाउने विश्वास व्यक्त गरे।
११ औं गाउँसभामा वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, पत्रकार, कर्मचारीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।












