योग पूर्वीय दर्शनको अमूल्य उपहार हो : अध्यक्ष डा. सिके राउत


काठमाडौं, असार ७ — जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले योग, ध्यान र साधनालाई मानव जीवनका लागि अत्यन्तै उपयोगी अभ्यासका रूपमा वर्णन गर्दै यसले शरीर, मन र आत्माको समन्वय कायम गर्न मद्दत गर्ने बताउनुभएको छ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राउतले भन्नुभयो, “योग अभ्यासले मानसिक तनाव कम गर्नुका साथै सकारात्मक ऊर्जा प्रदान गर्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र आत्मबल विकासमा सहयोग पुर्‍याउँछ।”

उहाँले योग केवल शारीरिक अभ्यास नभई वैज्ञानिक जीवनशैली र समग्र मानव विकासको आधार भएको उल्लेख गर्दै यसले ज्ञान, कर्म, चेतना र स्थिरताको मार्गमा अगाडि बढ्न मद्दत गर्ने बताउनुभयो। “शारीरिक, मानसिक र आध्यात्मिक सशक्तिकरणका लागि योग अत्यावश्यक अभ्यास हो,” अध्यक्ष राउतको भनाइ थियो।

नेपाललाई योगको उत्पत्तिस्थलको रूपमा लिइँदै आएको ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक प्रमाणहरूको सन्दर्भमा उहाँले भने, “नेपालको सांस्कृतिक सम्पदामा योग विज्ञानको प्रयोग प्राचीनकालदेखि हुँदै आएको छ, जुन हाम्रो गौरवपूर्ण सभ्यता र परम्पराको हिस्सा हो।”

अध्यक्ष राउतले योगलाई शिक्षा, स्वास्थ्य र राष्ट्रिय नीतिमा समावेश गर्दै संस्थागत प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आजको प्रतिस्पर्धात्मक र तनावग्रस्त जीवनशैलीलाई सहज, सरल र सन्तुलित बनाउन योगलाई जीवनशैलीकै अङ्गका रूपमा अपनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

“योग शान्ति, स्वास्थ्य र एकताको विश्वव्यापी सन्देश बोकेको हजारौं वर्ष पुरानो पूर्वीय दर्शनको अमूल्य उपहार हो,” उहाँले स्मरण गराउनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको