
२ असार , ललन मण्डल, महोत्तरी । बर्दिबास बजारमा पछिल्ला केही सातायता भइरहेका मोटरसाइकल चोरीका घटनामा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ भने पाँचवटा मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
प्रहरीका अनुसार जेठ ११ गतेदेखि २४ गतेसम्म बर्दिबास नगरपालिका–३, १४ र वरपरका क्षेत्रमा चार वटा मोटरसाइकल चोरी भएका थिए। तीमध्ये सिटी केयर अस्पताल, हमाल टोल, सेलर मिल र रिसोना गल्लीबाट मोटरसाइकल हराएको उजुरी प्रहरीमा दर्ता भएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय बर्दिबासले तत्कालै अनुसन्धान अघि बढाएको थियो। प्रहरी टोलीले सीसीटीभी फुटेज संकलन, सम्भावित संलग्न व्यक्तिहरूको विवरण अध्ययन, मो.सा. ग्यारेज व्यवसायीहरूसँग छलफलजस्ता विविध तरिकाबाट अनुसन्धान विस्तार गरेको थियो। साधा पोशाकमा प्रहरी परिचालनसँगै पैदल गस्तीसमेत बढाइएको थियो।
प्रहरीले असार १ गते सर्लाहीको हरिवनबाट चोरीको मोटरसाइकल बिक्री गर्न खोजिएको सूचनाको आधारमा विशेष टोली परिचालन गरेको थियो। टोलीले चोरीमा संलग्न रहेको आरोपमा मकवानपुर बागमती गाउँपालिका–७ का २६ वर्षीय पासाङ तितुङ, सर्लाही बागमती नगरपालिका–४ का २१ वर्षीय पदम थिङ, हरिवन–१० का ३२ वर्षीय दिल बहादुर सिङदोङ र बागमती–२ का २२ वर्षीय सुरेश घिसिङलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट चोरी भएका पाँचवटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मोटरसाइकलहरूमा दुईवटा २२० सीसीको पल्सर, एउटा १५० सीसी पल्सर, एउटा २०० सीसीको लक्क ब्राण्डको बाइक र एउटा कालो–रातो रंगको यलतभकत बाइक रहेको छ। साथै चोरीका लागि प्रयोग हुने ’लक तोड्ने साँचो’ समेत बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास बमले पक्राउ परेका व्यक्तिहरूलाई अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए। “मोटरसाइकल चोरीमा संलग्न गिरोह पहिचान गरी नियन्त्रणमा लिन सफल भएका छौं,“ उनले भने, “थप अनुसन्धान जारी छ।“
पछिल्ला दिनमा बर्दिबास क्षेत्र मोटरसाइकल चोरीका घटनाले त्रसित बनेको थियो। प्रहरीले गिरोहसहित मोटरसाइकल बरामद गरेपछि स्थानीयले राहत महसुस गरेका छन्। यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाहीको मागसमेत गरिएको छ।