
धर्मेन्द्र यादब, महोत्तरी, जेठ २९ — अत्यधिक गर्मीका कारण महोत्तरीको सोनमा गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू दुई दिनका लागि बन्द हुने भएका छन्। गाउँपालिकाका अध्यक्ष बिशेश्वर प्रसाद यादवको नेतृत्वमा सोमबार गरिएको निर्णयअनुसार, जेठ २९ र ३० गते विद्यालयहरू बन्द रहने छन्।
गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै उक्त निर्णयको जानकारी दिएको हो। गाउँपालिका अन्तर्गतका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू यस निर्णयको दायरामा पर्नेछन्।
गाउँपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार, पछिल्ला केही दिनयता लगातार बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने आँकलन गरिएको थियो। गर्मीको कारण बालबालिका विद्यालय आउन-जान गर्न कठिन भएको र उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर देखिन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।
शाखाले यदि मौसममा सुधार नभएमा विदाको अवधि थपिन सक्ने पनि जनाएको छ।
हाल महोत्तरी सहित तराईका विभिन्न जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। यसले गर्दा जनजीवन प्रभावित भएको छ। चर्को घाम र लूका कारण बालबालिका, वृद्धवृद्धा र बिरामीहरू बढी प्रभावित भइरहेका छन्।
स्थानीय प्रशासनले सर्वसाधारणलाई दिउँसोको समयमा अत्यावश्यक कार्यबाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ।