७ जेठ , काठमाडौं – जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालय, काठमाडौंमा सम्पन्न बैठकमा संघीय लोकतान्त्रिक मोर्चाले नेपाल सरकारप्रति बृहत ध्यानाकर्षण गराउँदै दुई महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । बैठक जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी. के. राउतको अध्यक्षतामा सम्पन्न भएको थियो।
मोर्चाले पहिलो निर्णयमा सरकारलाई राष्ट्रिय आयोजना तथा प्रमुख राष्ट्रिय योजनाहरूका लागि आवश्यक बजेट व्यवस्था गर्न आग्रह गरेको छ । जसअन्तर्गत दोधारा चाँदनी–हल्दुवाघाट सडक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य विज्ञान प्रतिष्ठान ९राजविराज०, गण्डक नहर सिँचाइ आयोजना, बर्दिबास–निजगढ–सिमरा–वीरगञ्ज–पथलैया सडक पुनर्निर्माण, र विभिन्न बाँझो योजनाहरूको शीघ्र पुनःसञ्चालनका लागि शिक्षा, स्वास्थ्य, कृषि र पर्यावरण क्षेत्रका बजेटमा प्राथमिकता दिन आग्रह गरिएको छ।
दोस्रो बुँदामा, सरकारले संसद्मा पेस गरेको “भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक” प्रति मोर्चाले गम्भीर आपत्ति जनाउँदै त्यसलाई संविधानविपरीतको र प्रदेशको अधिकारमाथि हस्तक्षेप गर्ने खालको भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, “भूमिसम्बन्धी व्यवस्थापन तथा उपयोगको प्रमुख अधिकार प्रदेशको रहने संविधानको व्यवस्था विपरीत संघीय सरकारको एकपक्षीय हस्तक्षेप संविधान र संघीयताको मर्मविपरीत छ।”
मोर्चाले उक्त विधेयक खारेज गरी फिर्ता लिन सरकारसँग माग गर्दै चेतावनी दिएको छ कि यस्ता विधेयकले मुलुकमा जातीय, वर्गीय तथा क्षेत्रीय द्वन्द्व चर्किन सक्ने सम्भावना रहेको छ। भूमि विवाद समाधानको लागि प्रदेश सरकारलाई नै जिम्मा दिनु उपयुक्त हुने मोर्चाको भनाइ छ।
मोर्चाका संयोजक डा. सी. के. राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशको शान्ति, स्थायित्व र जनताको हितका लागि यी मागहरू यथाशीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ।











