४ जेठ बर्दिवास । बर्दिवास नगरपालिकाको आयोजनामा आउँदो सोमबार जेठ ५ गते बर्दिवास–५ स्थित श्री टुटेश्वरनाथ गुरुकुलमा निःशुल्क आँखा तथा पाठेघरसम्बन्धी एक दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
शिविर बर्दिवास आँखा अस्पताल, सिन्धुली रोड र बर्दिवास जनसेवा अस्पताल, गौरिडाँडाको प्रविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी, उपशाखा बर्दिवासको व्यवस्थापनमा आयोजना गरिनेछ। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने यस शिविरमा स्थानीय बासिन्दाहरूले विविध स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा प्राप्त गर्न सक्नेछन्।
शिविरमा उपलब्ध सेवाहरु
आँखा शिविरः
– सामान्य तथा जटिल आँखाका समस्याहरूको परीक्षण
– मोतियाबिन्दु, जलबिन्दु, आँखामा मासु पलाउने लगायतका रोगहरूको विशेषज्ञ परीक्षण
– आवश्यक बिरामीको शल्यक्रियाका लागि सिफारिस
– निःशुल्क औषधि तथा चस्माको व्यवस्था
पाठेघर शिविरः
– महिनावारीको अनियमितता तथा अत्यधिक सेतो पानी बग्ने समस्या
– तल्लो पेट दुख्ने, पिसाब पोल्ने, गन्धयुक्त सेतो पानी बग्ने
– बाँच्नोपाना तथा झाडापखाला, रगत बग्ने वा गाँठागुँठी हुने समस्या आदिको परीक्षण र परामर्श सेवा
नगरपालिकाले सर्वसाधारणलाई शिविरमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ। कार्यक्रममा सहभागी हुनुपर्ने स्थान, मिति र समयका बारेमा सूचना सार्वजनिक गर्दै, अधिकतम नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।
स्वास्थ्यका विषयमा जनचेतना अभिवृद्धि र उपचार पहुँचमा वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको यो शिविर स्थानीय स्तरमा महत्वपूर्ण ठहरिएको छ।




















