२३ बैशाख,महोत्तरी– महोत्तरीको भंगहा नगरपालिका–६ स्थित आफ्नै ससुराली घरमा २२ वर्षीया किरण मण्डलको रहस्यमय मृत्यु भएको छ। मृतकको परिवारले यो घटनालाई योजनाबद्ध हत्या भन्दै ससुराली पक्षका सदस्यहरूलाई संलग्न आरोप लगाएका छन्।
मृतकका बुबा रामभरोष मण्डलका अनुसार किरणको विवाह २०७८ माघ २२ गते रामछविला मण्डलसँग १० लाख नगद, २ तोला सुन, लत्ताकपडा र अन्य सामग्री दिई धुमधामले गरिएको थियो। विवाहपछि एक नातिनीको जन्म पनि भएको छ , जो अहिले १४ महिनाकी भइसकेकी छिन्।
तर, विवाहपछिको समयदेखि नै किरणमाथि निरन्तर घरेलु हिंसा, गालीगलौज र कुटपिट हुने गरेको उनका बुबाले जाहेरीमा उल्लेख गरेका छन्।
हत्या पूर्व नियोजित:
रामभरोष मण्डलका अनुसार ससुराली पक्षका किरणको देबर रवि मण्डल, जो विदेशमा थिए, घटनाको एक साताअघि मात्र नेपाल फर्केका छ र उनी नै प्रमुख योजनाकार रहेको आरोप लगाइएको छ। विदेशमै रहँदा रविले किरणलाई पटक–पटक फोनमा टर्चर गर्ने, डराउने, धम्क्याउने गरेका थिए। २०८२ वैशाख १४ गते रविले ‘हत्या गर्ने’ धम्की दिएको दाबी पनि जाहेरीमा गरिएको छ।
मृत्युको दिन
किरणको मृत्यु वैशाख १७ गते बिहानै अन्दाजी ९ बजे भएको अनुमान गरिएको छ। घटनास्थल किरण सुत्ने कोठाको छानामा ९ फिट अग्लो बाँसको बडेरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको उचाइ ४।५ फिट मात्र भएकोले आफैं झुन्डिन असम्भव रहेको परिवारको दाबी छ।
घटनाको अघिल्लो दिन, जब बुबा रामभरोष मण्डलले भिडियो कलमार्फत छोरीसँग कुरा गर्न खोजे, त्यतिबेला उनलाई छोरीसँग कुरा गर्न नदिई उल्टै अपशब्द प्रयोग गर्दै फोन काटिएको थियो। किरणलाइ हत्या नै गरेको हो बुबा राम भरोस मण्डले दाबि गरे , मेरो छिरिको शारिरी भरि निलडाम र चोटपटक लागेको छ । मेरो छोरीलाई यी हत्यारा दाजिभईले कुटपिट गरेरै हत्या गरेको हो
प्रहरीमाथि आरोप
घटनाको अनुसन्धानको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय महोत्तरी आलोचनाको घेरामा परेको छ। मृतक पक्षले प्रहरीमाथि ससुराली पक्षसँग मिलेमतो गरी ढिलासुस्ती र पैसाको लेनदेनको आरोप लगाएका छन्। मानवअधिकारकर्मी तथा इन्सेककी प्रतिनिधि ममता विश्वकर्माले प्रहरी प्रशासनले ससुराली पक्षबाट रकम असुली गरी अनुसन्धानलाई कमजोर बनाएको आरोप सार्वजनिक गरेकी छन्।
“हत्या पछि पनि प्रहरीले चासो देखाएन, उल्टै जाहेरी दर्तामा पनि ढिलाइ गर्यो,” ममता विश्वकर्माले भनिन्, “यो स्पष्ट हत्या हो, आत्महत्या भन्ने कुनै आधार छैन।”
न्यायको माग
रामभरोष मण्डलले न्यायको लागि प्रदेश र केन्द्र सरकारसँग अपील गरेका छन्। “छोरीको निर्मम हत्या गरियो, दोषीहरू खुलेआम हिँडिरहेका छन्, प्रहरीले केही गरेको छैन,” उनले भने, “हामीलाई न्याय चाहियो, दोषीलाई कडा कारबाही गरियोस्।”
मानव अधिकार रक्षकको चेतावनी
स्थानीय मानव अधिकारकर्मीहरूले छिटो छानबिन र निष्पक्ष अनुसन्धानको माग गरेका छन्। “यो घटना ढाकछोप गर्न खोजियो भने न्याय मर्छ,” एक स्थानीय समाजसेवीले भने। इन्सेककी प्रतिनिधि ममता विश्वकर्मा लगायत मानव अधिकारकर्मीहरूले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा महोत्तरी जिल्लामा यस्ता दर्जनौं घटना प्रहरीकै मिलेमतोमा “नष्ट” गरिएका छन्।
“मधेस प्रदेशमा यस्ता घटना लुकाउने र कमजोर अनुसन्धान गर्ने अभ्यास पुरानै हो,” ममता विश्वकर्माले भनिन्,
“यो घटनामा पनि सुरुमा प्रहरीबाटै लेनदेन भएको स्पष्ट संकेत छ, अब पछिल्लो चरणमा पनि त्यस्तै हुने आशंका गर्न सकिन्छ। यदि यो घटना लुकाइयो भने हामी कसैलाई पनि छाड्ने छैनौं।”
प्रहरीको प्रारम्भिक प्रतिक्रिया
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी शैलेन्द्र भट्टसँग गरिएको संवादमा उनले भने,“हामी भर्खरै आएको छौं, तीन–चार दिनमात्र भयो। यो घटनाको बारेमा थाहा छैन। अहिले म बुझ्दैछु,”भनेका छन्। साथै, प्रहरी र ससुराली पक्षबीच पैसाको लेनदेन भएको भन्ने आरोपका विषयमा उनले थप अनुसन्धान गरी जानकारी दिने प्रतिबद्धता जनाएका छन्।

Oplus_131072










