१६ बैशाख ,सिरहा- सिरहाको लहानस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सलहेश फूलबारीसँगै जोडिएको निजी जग्गामा ‘अम्बेडकर पार्क’ निर्माण कार्य सुरु भएको छ। सोमबार आयोजित एक विशेष समारोहका बीच जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उक्त पार्कको शिलान्यास गरे।
मधेस प्रदेश सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालयको पहलमा ८० लाखको लागतमा पार्क निर्माण कार्य अगाडि बढाइएको हो। डिभिजन वन कार्यालय, सिरहामार्फत आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले सलहेश फूलबारी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई ध्यानमा राख्दै मास्टर प्लानसहित विकास योजना अघि बढाइएको जानकारी दिए। उनले भने, ूअम्बेडकर जस्तो प्रतिष्ठित व्यक्तिको नाममा पार्क निर्माण गर्दा यस क्षेत्रका दलित तथा अन्य समुदायलाई प्रेरणा मिल्नेछ। जैविक विविधता र धार्मिक महत्वलाई समेटेर यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको छ।
पार्कमा हुने संरचनाहरू
डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार पार्कभित्र डा। अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, प्रवेशद्वार, र अन्य संरचनाहरू निर्माण गरिने छन्। करिब ९ बिघा क्षेत्रफलमा फैलिएको धार्मिक वन क्षेत्रमा पार्क निर्माण गरिँदैछ। पार्क निर्माणमा थप सहयोगस्वरूप ८८स्थानीय पुजारी जितेन्द्रदेव धामी दनुवार ८८ ले फूलबारीसँगै जोडिएको आफ्नो १० घुर जग्गा दान गरेका छन्।
वैशाख १ मा विशेष मेला
प्रत्येक वर्ष वैशाख १ गते यस क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ। सोही दिन मात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न नेपाल तथा भारतबाट हजारौँ भक्तजन सलहेश फूलबारी आउने गर्दछन्।
शिलान्यास कार्यक्रममा सहभागी विशिष्ट व्यक्तिहरू
कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. जयकान्त राउत वन तथा वातावरण मन्त्री त्रिभुवन साह, मधेस प्रदेश संसदीय दलका नेता तथा पूर्व शिक्षामन्त्री महेश प्रसाद यादव, प्रदेश सांसदहरू सञ्जय यादव, भाग्यश्री चौधरी, अनिता साहसहित जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो।
को हुन् डा. भीमराव अम्बेडकररु
बाबासाहेब डा. भीमराव अम्बेडकर भारतीय संविधानका प्रमुख निर्माता, दलित आन्दोलनका अगुवा, मानव अधिकारकर्मी तथा सामाजिक सुधारक थिए। उनले जातीय विभेद, धार्मिक असहिष्णुता र सामाजिक अन्याय विरुद्ध आवाज उठाउँदै समानताको पक्षमा ऐतिहासिक योगदान पुर्याएका थिए।
सन् १९४७ मा उनले भारतीय संविधान मस्यौदा समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उनले जातीय विभेदको अन्त्य गर्न संवैधानिक अधिकारमार्फत सुनिश्चितता दिलाए।
शिक्षामा उत्कृष्टता हासिल गरेका अम्बेडकरले लण्डन स्कूल अफ इकोनोमिक्सबाट ‘डाक्टर अफ अल साइन्स’ उपाधि प्राप्त गरे। उनको सालिक लण्डनको संग्रहालयमा कार्ल मार्क्सको सालिकसँगै राखिएको छ। सन् २००४ मा कोलम्बिया विश्वविद्यालयले विश्वका शीर्ष १०० विद्वान्हरूमध्ये उनीलाई पहिलो स्थानमा राखेको थियो।
उनीप्रति सम्मानस्वरूप विश्वभरका विभिन्न देशहरूमा उनका सालिकहरू स्थापना गरिएका छन्।












