२ बैशाख, काठमाडौं — काठमाडौंको चाबहिलस्थित ओम चावहिल डेन्टल अस्पतालले सोमबार भव्य रूपमा आफ्नो सातौं वार्षिकोत्सव सम्पन्न गरेको छ।
बागमती प्रदेश सभा सदस्य सुनिल केसीको प्रमुख आतिथ्यतामा तथा सञ्चारकर्मी नरेश भट्टराईको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा अस्पतालले विगत सात वर्षदेखि गुणस्तरीय दन्त तथा मुख सम्बन्धी सेवा प्रदान गर्दै आएको उल्लेख गरियो।

अस्पतालका सञ्चालक अध्यक्ष कृष्ण घिमिरेले नयाँ वर्ष २०८२ तथा वार्षिकोत्सवको अवसरमा विशेष छुट योजना घोषणा गर्नुभएको छ। उहाँले वैशाख महिनाभर अस्पतालमा सेवा लिन आउने बिरामीहरूलाई निशुल्क चेकजाँचसहित उपचार सेवामा २० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिने जानकारी दिनुभयो।
अध्यक्ष घिमिरेले अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएका, असहाय तथा निम्न आय भएका बिरामीहरूलाई स्थानीय निकायको सिफारिसमा निशुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो।
उहाँले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वमा उस्तै सक्रियता राख्दै सबै वर्गका बिरामीहरूलाई सहज र सुलभ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सञ्चारकर्मीहरू, कलाकारहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।



















