१ बैशाख,बर्दिवास – “जनसेवाको अभियान, स्वास्थ्य समाजको निर्माण” भन्ने नाराका साथ १८औं वार्षिकोत्सव मनाउँदै आएको बर्दिवास जनसेवा अस्पताल प्रा.लि.ले नयाँ वर्ष २०८२ को सुरुवातलाई विशेष बनाउँदै बैशाख १ गतेदेखि निशुल्क ओ.पी.डी. टिकट सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
चैत ३१ गते अस्पतालको कार्यालयमा आयोजित संचालक समितिको बैठकले उक्त निर्णय पारित गरेको हो। बैठकको अध्यक्षता अस्पतालका संचालक अध्यक्ष सुमन भुजेलले गरेको थियो। बैठकमा प्रशासन प्रमुख मिना कुमारी भुजेल, विभिन्न कन्सल्टेन्ट चिकित्सकहरू, लेखापाल, संयोजक लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकमा अध्यक्ष सुमन भुजेलले भने, “स्वास्थ्य सेवा सबैको पहुँचमा पुगोस् भन्ने हाम्रो लक्ष्य हो। नयाँ वर्षको सुरुवात एक सकारात्मक सन्देशसहित गर्न हामीले बैशाख महिनाभरी ओ.पी.डी.टिकट सेवा निःशुल्क दिने निर्णय गरेका छौँ। यो हाम्रो सामाजिक उत्तरदायित्वको एउटा अभिन्न अङ्ग हो।”
अस्पतालले यसअघि पनि समय-समयमा विभिन्न निःशुल्क स्वास्थ्य शिविर, सचेतनामूलक कार्यक्रम तथा सेवा विस्तार गर्दै आइरहेको छ। यस पटकको निर्णयले खासगरी आर्थिक रुपमा कमजोर वर्गका नागरिकहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने अपेक्षा गरिएको अध्यक्ष भुजेलको भनाई रहेको छ ।
बर्दिवास ३, महोत्तरीस्थित यस अस्पतालले बालरोग, महिला रोग, हाडजोर्नी, जनरल मेडिसिन, सर्जरी, भिडियो एक्स-रे, ल्याब सेवा, इ.सी.जी, फार्मेसी जस्ता सेवा प्रदान गर्दै आएको छ।
नयाँ वर्षको सुरुवातमा यस्तो निर्णयले विशेषगरी ग्रामीण तथा आर्थिक रुपमा पिछडिएका नागरिकहरूलाई राहत दिने विश्वास अस्पताल प्रशासनले लिएको छ।
निःशुल्क ओ.पी.डी. टिकट सेवा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म उपलब्ध हुने जानकारी दिइएको छ।
अस्पताल प्रशासनले सेवा उपयोग गर्न सम्पूर्ण जनतालाई आग्रह गरेको छ।









