२० चैत, बर्दिबास । सामाजिक कार्यमा समर्पित ‘सबैका लागि हामी’ संस्थाले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा तराई क्षेत्रमा बढ्दो अत्यधिक गर्मीलाई ध्यानमा राख्दै निःशुल्क चिसो पिउने पानी वितरण गर्ने अभियान सुरु गरेको छ।
संस्थाले बर्दिबास चोकस्थित बर्दिबास फिलिम हलदेखि दक्षिण, बर्दिबास अप्टिकल हाउसको अगाडि आगन्तुक तथा स्थानीय बासिन्दाका लागि जारमार्फत शुद्ध तथा चिसो पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।
गर्मीको यो समयमा पानीको अभावका कारण यात्रा गर्ने यात्रुहरू, पसल व्यवसायी तथा दैनिक श्रम गर्ने मजदुरहरूलाई सहज होस् भन्ने उद्देश्यले संस्थाले यो अभियान सञ्चालन गरेको अध्यक्ष रवि निरौला बताउँछन्। “चर्को घामले गर्दा धेरै मानिस डिहाइड्रेसनको सिकार बन्ने गर्छन्। यस्तो अवस्थामा चिसो पानीले उनीहरूलाई राहत दिनेछ,” उनले भने।
यस अभियानको औपचारिक सुरुवात आजदेखि भएको छ। संस्थाले विगत दुई वर्षदेखि विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै आइरहेको छ। यसअघि पनि संस्थाले रक्तदान कार्यक्रम, शैक्षिक सामग्री वितरण तथा विपन्न परिवारलाई राहत वितरणजस्ता कार्यहरू गर्दै आएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद शारदा देवी थापा रहनुभएको थियो। उहाँले संस्थाको समाजसेवामा निरन्तर योगदानको सराहना गर्दै आगामी दिनमा समेत यस्ता सकारात्मक पहललाई निरन्तरता दिनुपर्ने बताउनुभयो। “गर्मीको समयमा शुद्ध खानेपानीको व्यवस्था गर्नु समाजसेवाको निकै नै सराहनीय पक्ष हो,” उहाँले थप्नुभयो।
स्थानीय बासिन्दा तथा यात्रुहरूले संस्थाको यो अभियानको खुलेर प्रशंसा गरेका छन्। गर्मीमा यात्रा गर्नेहरूका लागि यस किसिमको व्यवस्था निकै लाभदायक भएको यात्रु सुरेश यादवले बताए।
संस्थाका प्रतिनिधिहरूले संस्थालाई दिएको निरन्तर साथ र सहयोगका लागि सम्पूर्ण शुभेच्छुक तथा सहयोगी मनहरूलाई हार्दिक आभार व्यक्त गरेका छन्।
‘सबैका लागि हामी’ – सबैका लागि पानी!











