संतोष सिंह ।
महोतरी–बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले निर्वाचित भएको एक हजार दिनको उपलब्धि सार्वजनिक गर्दै विपक्षिले अबरोध गर्दैमा जनप्रतिनिधिले गरेको सकारात्मक काम नछोपिने र नरोकिने बताएका छन् ।
निर्वाचनमा पराजितहरु सबै एकजुट भएर निर्वाचितलाई बिरोध गर्ने भन्दापनि सत्यलाई सत्य र गलतलाई गलत भन्न सक्नुपर्छ, क्षेत्रीले भने,‘विपक्षीहरुको आलोचना मेरोलागि मार्गदर्शन हो । तर विपक्षिले अरुको जुम्रा देख्छन आफनै जुम्रा देख्दैनन् ।’ बर्दिवास नगरपालिकाको नियमित निती, कार्यक्रम तथा बजेट मार्फत नगरमा शिक्षा, स्वास्थ्य, कृषि, सडक, पुल, भवन, सिंचाई, खानेपानी, खेल मैदान सुशासन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिएको उनले भने ।
नगरबासीको भावना अनुरुप अधिकतम सेवा सुविधा उपलब्ध गराउनुको साथै विकासका समग्र सूचकहरुलाई दिगो विकास सँग जोड्दै उत्कृष्ट नगरको रुपमा परिचित गराउन १ हजार ८ सय २५ दिन मध्ये १ हजार दिनमा गरेको काम कारवाहिको प्रगति समेटेर बर्दिवास नगरपालिकाको पुस्तक प्रकाशित गरेको क्षेत्रीले बताए ।
नगर प्रमुख क्षेत्रीले निर्वाचित भएको १ हजार दिनमा २५.८५ किलोमिटर कलोपत्रे, २८ किलोमिटर पिसिसि ढलना, ६४ किलोमिटर ग्राभेल तथा नया सडक निर्माण, २ वटा पुल निर्माण, २६ कल्भर्ट, ७.४२ किलोमिटर नाला र ३० स्थानमा ह्युम पाइप जडान गरिएको बताए । एक हजार दिनमै ३८ वटा सामुदायिक भवन, ३१ वटा मन्दिर÷गुम्बा÷मस्जिद, ९ वटा खानेपानी ट्यांकी निर्माण, खानेपानी सप्लाईकालागि १४.५७ किलोमिटर पाइपलाईन बिस्तार र १२ वटा प्रतिक्षलय निर्माण गरिएको नगर प्रमुख क्षेत्रीले भने ।
सिचाई तर्फ ४.२ किलोमिटर कुलो निर्माण र ९४ डिप बोडि¨ जडान गरिएको, ४ वटा पोखरी शौन्दर्यकरण, रातु नदीको उकास जग्गामा रामजानकी फनपार्क निर्माण गरिएको, धार्मिक स्थलहरुको संरक्षण गरिएको, बाढीबाट हुने क्षति रोक्न नदीको किनारमा तारजालि लगाइएको क्षेत्रीले बताए । नगरपालिकाले आफनै १२ वटा कानुन, २ वटा नियमावली, ३९ कार्यविधि, ६ वटा निर्देशिका र २ वटा मापदण्ड बनाएर दैनिक काम सञ्चालन गरिरहेको क्षेत्रीले बताए ।











