खोला व्यवस्थापनको अभावमा जोखिममा बस्ती


रिभान्स मण्डल ।
खोला उत्खननले वातावरणीय क्षति पु¥याउने तर्क बलियो छ । तर कतिपय ठाउँमा खोलाबाट बालुवा, गिट्टी, र ढुंगा ननिकाल्दा गाउँहरू नै जोखिममा पर्ने अवस्था देखिएको छ । स्थानीय बासिन्दाहरूका अनुसार खोलाहरू सफा नगर्दा अवरुद्ध जलमार्ग तथा कमजोर तटबन्धका कारण बाढीपहिरोको जोखिम बढेको छ ।
बर्दिवास नगरपालिका–९, का एक किसानका अनुसार खोला व्यवस्थापनको अभावमा रातु खोलाले उनको ८ बिघा जमिन कटान गरी ३ कठामा सीमित गरिदिएको छ । उनका अनुसार खोलाले बाढीका कारण खेतीयोग्य जमिन कटान गर्ने मात्र होइन परिवारलाई नै विस्थापित गरिदिएको छ । उनका तीन सन्तानमध्ये दुईजना विदेशिन बाध्य भएका छन् । उनी भन्छन्, “रातु खोलाले मेरो मात्र होइन कयौं किसानहरूको भविष्य नै बगाएको छ ।”
खोला व्यवस्थापन नगर्दा केही वर्षअगाडि रातु खोलामा आएको बाढीका कारण बर्दिवास नगरपालिका र आसपासका अन्य क्षेत्रहरूमा घर तथा खेतीयोग्य जमिन जोखिममा परेका थिए । बर्दिवास नगरपालिका– ९ का एक स्थानीय किसान पल्टु मण्डलका अनुसार “पहिला खोला खन्न नपाउने नियम लागू भएपछि बाढीको समयमा नदीले धार परिवर्तन गर्छ जसले खेतीयोग्य जमिन कटान गर्दै लग्छ।
नेपालमा पूर्वाधार विकास, सडक निर्माण, जलविद्युत् परियोजना तथा भवन निर्माणका लागि बालुवा, गिट्टी, ढुंगा अनिवार्य रूपमा आवश्यक पर्छ । बर्दिवास नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष घुरण महतोका अनुसार यदि वैज्ञानिक तरिकाले वातावरणीय प्रभाव मूल्यांकन गर्दै उचित व्यवस्थापन सहित खोला उत्खनन गरियो भने यो विकासका लागि आवश्यक हुन सक्छ । उनले भने, “अहिले देशभर भइरहेको अनियन्त्रित खोला उत्खननका कारण वातावरणीय क्षति भयावह बनेको छ । खोलाको उचित व्यवस्थापन नहुँदा नदीहरूको बहाव परिवर्तन भइरहेको छ , जसले जलाधार क्षेत्र कमजोर बनाउँदै गएको छ।”
रातु खोलामा वर्षौंदेखि थुप्रिएको बालुवा र गिट्टीले नदीको बहाव अवरुद्ध बनाउँछ । यसले बाढीको पानी छेकेर पुल तथा सडक भत्काउने जोखिम बढाउँछ । केही महिना अगाडि वर्षायाममा बर्दिवास नगरपालिका वडा नं. ५ मा रहेको टुटेश्वर पुल खोलामा आएको बाढीका कारण भासिएको थियो । स्थानीयहरूका अनुसार खोला व्यवस्थापनको अभावले गर्दा पुलहरू कमजोर बनेका छन् ।
विशेषज्ञहरूको भनाइमा खोला नखन्नु मात्र समाधान होइन खोला व्यवस्थापनको नीति आवश्यक छ । वैज्ञानिक रूपमा खोला सफा गर्दै जलमार्ग खुला राख्ने आवश्यक ठाउँमा तटबन्ध बनाउने र दीर्घकालीन रूपमा बस्ती सुरक्षित गर्ने उपाय अवलम्बन गर्नुपर्ने स्थानीय बताउँछन् ।

बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीका अनुसार, खोला उत्खननलाई पूर्ण रूपमा रोक्नु उचित छैन, तर अनियन्त्रित दोहनले पनि समस्या निम्त्याउँछ। उनले भने, “समाधानको लागि वैज्ञानिक अध्ययनको आधारमा खोला व्यवस्थापन गर्नुपर्छ। खोलालाई न त जथाभावी खन्नुपर्छ, न त पूरै बेवास्ता गर्नुपर्छ। स्थानीय बस्तीको सुरक्षाका लागि सन्तुलित नीति आवश्यक छ।“


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको