कुम्भ मेलाबाट फर्किंदै गर्दा बिहारको मुजफ्फरपुरमा जिप दुर्घटना, एकै परिवारका पाँचजनाको मृत्यु


१९ माघ । भारतको प्रयागराजमा महाकुम्भ मेलामा सहभागी भएर फर्किंदै गरेको नेपाली परिवारको जिप शनिबार दिउँसो बिहारको मुजफ्फरपुरमा दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ ।

मृतकहरू सबै एकै परिवारका सदस्य रहेको पुष्टि भएको छ भने दुर्घटनामा परी चारजना गम्भीर घाइते भएका छन् ।घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो जिप मोटरसाइकललाई बचाउने प्रयासमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा जिपले पाँच पटक बल्ड्याङ खाएको र सोही कारण ठूलो क्षति भएको जनाइएको छ ।

मृतकहरूको पहिचान मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र जिप चालकको रूपमा भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूमा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र एकजना नाम नखुलेका व्यक्ति छन् ।

घाइतेलाई मुजफ्फरपुरको एसकेएमसीएच ९श्रीकृष्ण मेडिकल कलेज एण्ड हस्पिटल०मा उपचारका लागि भर्ना गरिएको छ । घाइते कामिनी झाले दिएको जानकारी अनुसार उनीहरू प्रयागराजमा महाकुम्भ स्नान सकेर अयोध्या र वाराणसीको धार्मिक यात्रा पनि सम्पन्न गरी घर फर्किंदै थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी र महोत्तरी जिल्लाका प्रशासनिक कार्यालयहरूले भने दुर्घटनाबारे औपचारिक जानकारी प्राप्त नभएको बताएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार घटनामा मृतक र घाइते सबै एकै परिवारका सदस्य थिए ।

दुर्घटनाको वास्तविक कारण अझै अनुसन्धानको क्रममा रहेको भए तापनि प्रारम्भिक रिपोर्टअनुसार तीव्र गति र मोटरसाइकल बचाउने प्रयासले दुर्घटना निम्त्याएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको